काठमाडौं । सांसद खगेन्द्र सुनारले प्रहरी महानिरीक्षक दानबहादुर कार्कीप्रति गरेको व्यवहारलाई लिएर नेपाल पूर्वप्रहरी संगठन कास्कीले आपत्ति जनाएको छ।
संगठनले विज्ञप्ति जारी गर्दै सार्वजनिक लेखा समितिको बैठकमा प्रहरी महानिरीक्षक कार्कीप्रति गरिएको व्यवहारको कडा निन्दा गरेको हो। संगठनका अध्यक्ष प्र.नि. बलबहादुर थापाले सांसद सुनारलाई आफ्नो पदीय मर्यादा, संसदीय शिष्टाचार तथा राष्ट्रको सुरक्षा निकायप्रतिको संवेदनशीलतालाई गम्भीरतापूर्वक मनन गर्न आग्रह गरेका छन्।
विज्ञप्तिमा सुनारलाई आगामी दिनमा अमर्यादित अभिव्यक्ति तथा व्यवहार नदोहोर्याउन आग्रह गरिएको छ।
पूर्वप्रहरी संगठनले नेपाल प्रहरीको नेतृत्व तथा अन्य अधिकारीलाई अपमानित गर्ने, संगठनको प्रतिष्ठामा आँच पुर्याउने वा प्रहरी कर्मचारीको मनोबल कमजोर पार्ने गतिविधि पुनः दोहोरिएमा आफूहरू मौन नबस्ने चेतावनीसमेत दिएको छ।
प्रहरीको संस्थागत गरिमा, आत्मसम्मान र मनोबलको संरक्षणका लागि आवश्यक लोकतान्त्रिक तथा कानुनी कदम चाल्दै सशक्त रूपमा प्रस्तुत हुने संगठनले जनाएको छ।
सार्वजनिक लेखा समितिमा भनाभन
गत साउन २७ गते प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिको बैठकमा नेपाल प्रहरीको पोसाक खरिदसम्बन्धी विषयमा परेको बेनामी उजुरीमाथि छलफल भएको थियो। सो क्रममा प्रहरी महानिरीक्षक दानबहादुर कार्की र सांसद खगेन्द्र सुनारबीच भनाभन भएको थियो।
उक्त घटनाप्रति यसअघि गृहमन्त्री सुधन गुरुङले समेत आपत्ति जनाउँदै कसैविरुद्ध परेको उजुरीकै आधारमा दोषी करार गर्न नमिल्ने बताएका थिए।
Originally published on abcnews.com.np.


















प्रतिक्रिया दिनुहोस्