काठमाडौँ । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले नेपालको वामपन्थी आन्दोलनलाई नयाँ उचाइमा पुर्याउन अर्थराजनीतिको जगमा आधारित वैचारिक बहस आवश्यक रहेको बताउनुभएको छ ।
समाजवाद अध्ययन केन्द्र नेपालले काठमाडौँमा आयोजना गरेको ‘वामपन्थी आन्दोलन, अब के गर्ने ?’ विषयक राष्ट्रिय बहसमा बोल्दै उहाँले कम्युनिस्ट आन्दोलनको वैचारिक, राजनीतिक र सङ्गठनात्मक पुनर्गठन अपरिहार्य भएको बताउनुभयो ।
पोखरेलले वामपन्थी नेता–कार्यकर्तामा देखिएको निराशा र शिथिलतालाई उत्साह र गतिशीलतामा बदल्न सके मात्रै जनमत र राजनीतिक शक्ति निर्माण गर्न सकिने बताउनुभयो । विरोध र असहमतिलाई रचनात्मक बनाउन नसके त्यसले नेतृत्व र आन्दोलनप्रति नै अविश्वास बढाउने उहाँको भनाइ थियो ।
“विचारमा स्पष्टता नभइकन नेतृत्व परिवर्तनले केही अर्थ राख्दैन । ‘क’ को ठाउँमा ‘ख’ आउँछ, ‘ख’ को ठाउँमा ‘ग’ आउँछ । फेरि उही प्रकारको पुनरावृत्तिले आजको चुनौतीलाई सामना गर्न सक्दैन,” उहाँले भन्नुभयो ।
नयाँ पुस्तामाझ वामपन्थी विचार पुर्याउन सूचना प्रविधिको प्रभावकारी प्रयोग गर्नुपर्नेमा पनि पोखरेलले जोड दिनुभयो । समुदायमा आधारित काम गर्ने शैली कमजोर हुँदै गएको भन्दै उहाँले नयाँ जनशैली विकास गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो ।
भुषाल : कम्युनिस्ट पार्टीभित्र वामपन्थी अल्पमतमा
नेकपा संयुक्तका कार्यवाहक अध्यक्ष घनश्याम भुषालले कम्युनिस्ट पार्टीभित्र वामपन्थीहरू अल्पमतमा रहेको टिप्पणी गर्नुभयो ।
उहाँले वामपन्थले जनतासँग साँचो बोल्न सक्नुपर्ने बताउँदै नयाँ पुस्ताले वामपन्थ बुझ्दैन भन्ने भाष्य निर्माण भइरहेको उल्लेख गर्नुभयो । मधेसी, दलित, महिला, जनजाति र बेरोजगारलगायतका समुदायको स्वतन्त्र विकास वामपन्थी चेतनाको मुख्य मुद्दा हुनुपर्ने उहाँको भनाइ थियो ।
बस्नेत : वामपन्थी आन्दोलन एकीकृत गर्नुपर्छ
नेपाली कम्युनिस्ट पार्टीका स्थायी समिति सदस्य शक्ति बस्नेतले जनताले नयाँ राजनीतिक दृष्टिकोण र व्यवहार खोजिरहेको भन्दै त्यसअनुसार आफूलाई वैचारिक, राजनीतिक, सङ्गठनात्मक र जीवन व्यवहारका दृष्टिले तयार पार्नुपर्ने बताउनुभयो ।
विभाजित अवस्थामा रहेको वामपन्थी आन्दोलनलाई क्रमशः एकीकृत गर्दै लैजानुपर्ने उहाँको भनाइ थियो ।
यस्तै, एमाले नेता कर्ण थापाले देशभरका कम्युनिस्टहरू स्वतन्त्र विचारका साथ अघि बढ्नुपर्ने र कम्युनिस्ट आन्दोलनबारे गहिरो बहस आवश्यक रहेको बताउनुभयो ।
Originally published on abcnews.com.np.


















प्रतिक्रिया दिनुहोस्