जाजरकोट । जाजरकोटको भेरी नगरपालिका–२ रिसाङमा गएको पहिरोबाट नेपाली सेनाले ३०० जनाभन्दा बढीको उद्धार गरेको छ।
नेपाली सेनाको टोलीले पहिरोमा फसेका तथा प्रभावित स्थानीयको उद्धार गर्ने क्रममा आठ जना घाइतेलाई समेत सुरक्षित स्थानमा ल्याएको सेना निर्देशनालयले जनाएको छ। उद्धार गरिएका घाइतेलाई आवश्यक प्राथमिक उपचारसमेत उपलब्ध गराइएको बताइएको छ।
उद्धारका क्रममा पहिरोमा पुरिएका चार जनाको शवसमेत निकालिएको सेनाले जनाएको छ। घटनास्थलमा जोखिम अझै कायम रहेकाले खोज तथा उद्धार कार्यलाई निरन्तरता दिइएको छ।
पहिरो प्रभावित क्षेत्रमा थप जनशक्ति तथा आवश्यक राहत सामग्री परिचालन गर्ने तयारी भइरहेको सेनाले जनाएको छ। स्थानीय प्रशासनसँग समन्वय गरी प्रभावित परिवारलाई राहत तथा आवश्यक सहयोग उपलब्ध गराउने कार्यसमेत अघि बढाइएको छ।
लगातारको वर्षाका कारण पहिरोको जोखिम कायमै रहेकाले उद्धारमा खटिएका सुरक्षाकर्मी तथा स्थानीयलाई समेत उच्च सतर्कता अपनाउन भनिएको छ।
Originally published on abcnews.com.np.


















प्रतिक्रिया दिनुहोस्