काठमाडौं । त्रिभुवन आर्मी क्लबकी रसिला महर्जनले लिनिङ १४औँ पुष्पलाल स्मृति राष्ट्रिय वरीयता ब्याडमिन्टन प्रतियोगिताको महिला एकल उपाधि रक्षा गरेकी छिन्।
आइतबार सम्पन्न शीर्ष आठ वरीयता महिला एकलको फाइनलमा रसिलाले नेपाल पुलिस क्लबकी शेस्ना श्रीपालीलाई २१–१२, २१–१३ को सोझो सेटमा पराजित गर्दै लगातार दोस्रो पटक उपाधि जितेकी हुन्।
गत वर्ष पहिलो पटक उपाधि जितेकी रसिलाले यसपटक उपाधिसँगै ५० हजार रुपैयाँ पुरस्कार प्राप्त गरिन्। उपविजेता शेस्नाले २८ हजार ५ सय रुपैयाँ पाइन्। नेपाल पुलिसकी निता लम्साल र एपीएफकी रिहाना शेरचन संयुक्त तेस्रो भए।
शीर्ष आठबाहेक पुरुष एकलतर्फ नेपाल पुलिस क्लबका डेभिड थापा मगरले आफ्नै क्लबका कबिर केसीलाई २१–७, २१–१८ ले पराजित गर्दै उपाधि जिते। इलामका दिवस शंकर र आर्मीका सुप्रिम पन्त तेस्रो भए।
महिला एकलतर्फ कास्कीकी दिलाशा रानाले फिटनेपाल स्पोर्ट्सप्लेक्सकी निभा राईलाई २१–१६, २१–१४ ले पराजित गर्दै उपाधि जितिन्।
महिला युगलतर्फ आर्मीका अमिता गिरी र रसिला महर्जनको जोडी च्याम्पियन बन्यो। उनीहरूले चितवनकी सुषमा भुजेल र कास्कीकी दिलाशा रानाको जोडीलाई २१–२३, २१–१८, २१–१३ ले पराजित गरे।
पुरुष युगलतर्फ एपीएफका देवराज राना र प्रिन्स दाहालको जोडीले आर्मीका विधान अधिकारी र प्रफुल महर्जनको जोडीलाई २२–२०, २१–१७ ले हराउँदै उपाधि जित्यो।
प्रतियोगिताका विभिन्न उमेर समूह तथा मास्टर श्रेणीका खेलहरूमा पनि खेलाडीहरूले उपाधिका लागि प्रतिस्पर्धा गरेका थिए। प्रतियोगिता राष्ट्रिय ब्याडमिन्टन संघको आयोजनामा सम्पन्न भएको हो।
Originally published on abcnews.com.np.







प्रतिक्रिया दिनुहोस्