काठमाडौं, १ भदौ । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले मातहतका सबै निकायमा कार्यरत करार कर्मचारीको विवरण उपलब्ध गराउन निर्देशन दिनुभएको छ ।
मन्त्रालयले हाल कार्यरत करार कर्मचारीमध्ये फाजिलमा पर्न सक्ने कर्मचारीको विवरण तत्काल उपलब्ध गराउन सम्बन्धित निकायलाई निर्देशन दिनुभएको हो ।
भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय र सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयबाट प्राप्त पत्रका आधारमा करार कर्मचारीको विवरण सङ्कलन गर्न लागिएको मन्त्रालयले जनाएको छ ।
मन्त्रालयको प्रशासन तथा मानव संसाधन व्यवस्थापन शाखाले परिपत्र जारी गर्दै मातहतका सबै निकायलाई माग गरिएको विवरण सफ्ट कपीमा तयार गरी मन्त्रालयको आधिकारिक इमेलमार्फत पठाउन निर्देशन दिनुभएको छ ।
मन्त्रालयले विवरण उपलब्ध गराउन तत्काल निर्देशन दिए पनि त्यसका लागि निश्चित समयसीमा भने तोकिएको छैन । फाजिलमा पर्न सक्ने कर्मचारीको विवरण भने यथाशीघ्र उपलब्ध गराउन भनिएको छ ।
करार कर्मचारीको विवरण सङ्कलनपछि आवश्यकताभन्दा बढी रहेका वा फाजिलमा पर्न सक्ने कर्मचारीको अवस्थाबारे थप निर्णय हुने मन्त्रालयले जनाएको छ ।
Originally published on abcnews.com.np.


















प्रतिक्रिया दिनुहोस्