रूपन्देही । रोल्पाको थबाङ गाउँपालिका–५ मा पहिरोमा परी ज्यान गुमाएका परिवारलाई तत्काल राहत उपलब्ध गराउने निर्णय लुम्बिनी प्रदेशका सत्ता साझेदार दलले गरेका छन्।
सत्ता साझेदार दलको बैठकले पहिरोमा परी मृत्यु भएका व्यक्तिका परिवारलाई प्रदेश सरकारका तर्फबाट प्रतिव्यक्ति १ लाख रुपैयाँ राहत उपलब्ध गराउने निर्णय गरेको हो। साथै, प्रभावित क्षेत्रको पुनर्निर्माण तथा प्रबलीकरणमा समेत प्रदेश सरकारले सहयोग गर्ने जनाएको छ।
नेकपा एमालेका सचिव तथा लुम्बिनी प्रदेश इन्चार्ज छविलाल विश्वकर्माको अध्यक्षतामा बसेको बैठकमा प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्य, पूर्वमुख्यमन्त्री तथा नेपाली कम्युनिष्ट पार्टी संसदीय दलका नेता जोखबहादुर महरा, नेपाली कम्युनिष्ट पार्टीका स्थायी कमिटी सदस्य तथा लुम्बिनी प्रदेश इन्चार्ज चक्रपाणि खनाललगायत सत्ता साझेदार दलका नेताहरू सहभागी थिए।
बैठकले पहिरोमा परी ज्यान गुमाएका नागरिकप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोकसन्तप्त परिवारमा समवेदना प्रकट गरेको छ। घाइतेहरूको निःशुल्क उपचारको व्यवस्था मिलाइएको र प्रभावित परिवारलाई अविलम्ब राहत उपलब्ध गराउने विषयमा समेत जोड दिइएको छ।
पहिरो प्रभावित परिवारको पुनःस्थापनाका लागि प्रदेश सरकारले आवश्यक सहयोग गर्ने तथा खोज, उद्धार र विपद् प्रतिकार्यलाई थप प्रभावकारी बनाउने निर्णय भएको छ।
विपद्का समयमा नागरिकको जीवनरक्षा पहिलो प्राथमिकता भएकाले जोखिमयुक्त क्षेत्रमा बसोबास गरिरहेका नागरिकलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्नसमेत बैठकले जोड दिएको छ।
लुम्बिनी प्रदेशका विभिन्न जिल्लामा पछिल्लो समय देखिएको विपद्को अवस्थाबारे समेत बैठकमा छलफल भएको थियो। प्रदेश सरकार, स्थानीय तह र सुरक्षा निकायबीच प्रभावकारी समन्वय गरी प्रभावित क्षेत्रमा राहत, उद्धार तथा पुनःस्थापनाका कामलाई तीव्रता दिनुपर्नेमा नेताहरूले जोड दिएका छन्।
आन्तरिक मामिला, कानुन, उद्योग तथा यातायात मन्त्रालयका सूचना अधिकारी सुरेश आचार्यका अनुसार पहिरोमा मृत्यु भएका व्यक्तिका परिवारलाई प्रतिव्यक्ति १ लाख रुपैयाँ उपलब्ध गराउनुका साथै पुनर्निर्माण र प्रबलीकरणमा प्रदेश सरकारले सहयोग गर्नेछ।
अविरल वर्षापछि थबाङ गाउँपालिका–५ मा गएको पहिरोले ठूलो जनधनको क्षति गरेको छ। प्रभावित क्षेत्रमा खोज तथा उद्धार र राहतका काम जारी रहेको जनाइएको छ।
Originally published on abcnews.com.np.







प्रतिक्रिया दिनुहोस्