काठमाडौँ । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले पदबाट राजीनामा दिने घोषणा गर्नुभएको छ।
सोमबार प्रदेशसभा बैठकलाई सम्बोधन गर्दै मुख्यमन्त्री बानियाँले राजीनामाको घोषणा गर्नुभएको हो। नेकपा एमालेले साउन ६ गते सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि उहाँ अल्पमतमा पर्नुभएको थियो।
विश्वासको मत लिन प्रदेशसभा बैठक बोलाइए पनि बहुमत पुग्ने अवस्था नदेखिएपछि मुख्यमन्त्री बानियाँले प्रदेशसभालाई सम्बोधन गर्दै राजीनामा घोषणा गर्नुभएको हो।
१०४ सदस्यीय बागमती प्रदेशसभामा सरकार गठनका लागि ५३ सांसदको समर्थन आवश्यक हुन्छ। तर, नेपाली कांग्रेसका ३६ र सरकारमा सहभागी हाम्रो नेपाली पार्टीका २ गरी ३८ सांसद मात्रै आफ्नो पक्षमा रहेपछि उहाँले राजीनामा दिने निर्णय गर्नुभएको हो।
बानियाँ २०८२ साउन २० गते बागमतीको मुख्यमन्त्री नियुक्त हुनुभएको थियो। आफ्नै दलभित्र शक्ति प्रदर्शन गर्दै मुख्यमन्त्री बन्नुभएका बानियाँ एक वर्ष नपुग्दै पदबाट बाहिरिनुभएको हो।
प्रदेशसभालाई सम्बोधन गर्दै उहाँले आफ्नो कार्यकालमा प्रदेशवासीको हितमा उल्लेख्य काम गरेको दाबी गर्नुभयो। अझै धेरै काम गर्न बाँकी रहे पनि बदलिएको राजनीतिक परिस्थितिका कारण राजीनामा दिनुपरेको उहाँले बताउनुभयो।
‘हामीले जुन उद्देश्यका लागि संवैधानिक तथा संसदीय व्यवस्था अपनायौँ, त्यसअनुसारको अभ्यास र संसदीय मर्यादा कायम गर्नुपर्ने विषयमा अझै केही कुरा व्यवस्थित गर्न बाँकी रहे,’ मुख्यमन्त्री बानियाँले भन्नुभयो।
Originally published on abcnews.com.np.







प्रतिक्रिया दिनुहोस्