हेटौँडा । वाग्मती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले पदबाट राजीनामा दिएका छन्। प्रदेशसभाबाट विश्वासको मत प्राप्त गर्ने सम्भावना कमजोर बनेपछि बानियाँले सोमबार दिउँसो बसेको प्रदेशसभा बैठकलाई सम्बोधन गर्दै राजीनामाको घोषणा गरेका हुन्।
बानियाँले विश्वासको मत पाउने अवस्था नरहेकाले पदबाट राजीनामा दिएको बताएका छन्। उनी २०८२ साउन २० गते वाग्मती प्रदेशको मुख्यमन्त्री नियुक्त भएका थिए।
एमालेले समर्थन फिर्ता लिएपछि अल्पमतमा
तत्कालीन सत्तासाझेदार नेकपा एमालेले गत साउन ६ गते सरकारबाट आफ्ना ६ मन्त्रीलाई फिर्ता बोलाउँदै समर्थनसमेत फिर्ता लिएपछि मुख्यमन्त्री बानियाँ अल्पमतमा परेका थिए।
अल्पमतमा परेपछि संवैधानिक व्यवस्थाअनुसार उनले ३० दिनभित्र प्रदेशसभाबाट विश्वासको मत लिनुपर्ने थियो। सोहीअनुसार सोमबार दिउँसो १ बजे बस्ने प्रदेशसभा बैठकमा विश्वासको मत लिने तयारी गरिएको थियो।
तर आवश्यक बहुमत जुट्ने अवस्था नदेखिएपछि उनले विश्वासको मतको सामना गर्नुअघि नै राजीनामा दिएका हुन्।
५३ सांसदको समर्थन आवश्यक
१०४ सदस्यीय वाग्मती प्रदेशसभामा सरकार गठन तथा टिकाउन ५३ सांसदको समर्थन आवश्यक पर्छ।
मुख्यमन्त्री बानियाँको पक्षमा नेपाली कांग्रेसका ३६ र सरकारमा सहभागी हाम्रो नेपाली पार्टीका दुई गरी ३८ सांसदको मात्र समर्थन देखिएको थियो।
बहुमतका लागि थप १५ सांसदको समर्थन आवश्यक रहे पनि त्यो जुटाउन नसकेपछि बानियाँले राजीनामा दिने निर्णय गरेका हुन्।
राप्रपा तटस्थ बस्ने
मुख्यमन्त्री बानियाँले विश्वासको मत लिने तयारी गरिरहेकै दिन राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को वाग्मती प्रदेश संसदीय दलको बैठकले विश्वासको मतसम्बन्धी प्रस्तावमा तटस्थ बस्ने निर्णय गरेको थियो।
राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनको निर्देशनअनुसार प्रदेशसभामा रहेका राप्रपाका १३ सांसदले विश्वासको मतको पक्षमा मतदान नगर्ने निर्णय गरेका हुन्।
राप्रपाको यो निर्णयले पनि मुख्यमन्त्री बानियाँका लागि आवश्यक बहुमत जुटाउने सम्भावना थप कमजोर बनाएको थियो।
नयाँ सरकार गठनको बाटो खुल्यो
मुख्यमन्त्री बानियाँको राजीनामासँगै वाग्मती प्रदेशमा नयाँ सरकार गठनको प्रक्रिया अघि बढ्ने भएको छ।
बानियाँको नेतृत्वमा रहेको कांग्रेस सरकार अल्पमतमा परेपछि पछिल्लो समय प्रदेशमा नयाँ सत्ता समीकरणको प्रयास भइरहेको थियो। अब प्रदेशसभामा कुन दल वा गठबन्धनले बहुमत जुटाउँछ भन्ने आधारमा नयाँ मुख्यमन्त्री चयनको प्रक्रिया अघि बढ्नेछ।
वाग्मती प्रदेशसभामा कांग्रेस सबैभन्दा ठूलो दल रहे पनि एकल बहुमत नभएकाले सरकार गठनका लागि अन्य दलको समर्थन आवश्यक पर्ने अवस्था छ।
Originally published on abcnews.com.np.


















प्रतिक्रिया दिनुहोस्