काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले प्रधानमन्त्री बालेन्द्र शाहलाई विधिको शासनको मर्म बुझेर शासन सञ्चालन गर्न ध्यानाकर्षण गराएका छन्।
कांग्रेस केन्द्रीय कार्यसमिति बैठकको समापनमा बोल्दै थापाले प्रधानमन्त्री शाहलाई ‘रुल अफ ल’ (विधिको शासन) र ‘रुल बाइ ल’ (कानुनमार्फत शासन) बीचको अन्तर बुझ्न आग्रह गरेका हुन्।
थापाले प्रधानमन्त्रीले विधिको शासनलाई आत्मसात् गरेर अघि बढे अपेक्षित परिणाम हासिल गर्न सक्ने तर कानुनलाई आफ्नो स्वार्थअनुकूल प्रयोग गर्ने सोच राखे त्यसले अन्ततः स्वयं प्रधानमन्त्रीलाई नै अप्ठ्यारोमा पार्ने चेतावनी दिए।
“प्रधानमन्त्रीजीले यो कुरा बुझ्नुहोस् भन्ने हाम्रो आग्रह छ। ‘रुल अफ ल’ र ‘रुल बाइ ल’ सुन्दा एउटै सुनिन्छ। तर यो फरक कुरा हो,” थापाले भने।
उनका अनुसार विधिको शासन भन्नाले सरकार, प्रधानमन्त्री र राज्यका सबै निकाय कानुनको सीमाभित्र रहेर समान रूपमा उत्तरदायी हुनु हो। तर कानुनलाई आफूअनुकूल व्याख्या गरेर शक्ति प्रयोग गर्ने प्रवृत्तिले विधिको शासनको मूल भावना कमजोर पार्ने उनको भनाइ छ।
‘विधिको शासन समात्नुभयो भने अपेक्षित नतिजा आउँछ’
थापाले प्रधानमन्त्री शाहलाई विधिको शासनलाई शासनको आधार बनाउन आग्रह गरे।
“विधिको शासनलाई प्रधानमन्त्रीले समात्नुभयो भने अपेक्षित नतिजा पाउनुहुन्छ,” उनले भने।
तर कानुनलाई शासनको साधन वा व्यक्तिगत राजनीतिक उद्देश्य पूरा गर्ने ‘टुल’ का रूपमा प्रयोग गर्ने सोच राखिए त्यसको परिणाम गम्भीर हुन सक्ने थापाको चेतावनी छ।
“तर म विधिको शासन होइन, कानुनले शासन गर्छु, कानुनलाई टुलको रूपमा प्रयोग गर्छु भन्ने सोचाइ राख्नुभयो भने त्यसमा खनिएको खाल्डोमा अन्ततः तपाईं आफैँ पर्नुहुन्छ,” उनले भने।
सरकारलाई कांग्रेसको निगरानी रहने संकेत
थापाको अभिव्यक्तिले प्रधानमन्त्री शाह नेतृत्वको सरकारका निर्णय र कार्यशैलीमाथि कांग्रेसले नजिकबाट निगरानी राख्ने संकेत गरेको छ।
कांग्रेस सभापतिले लोकतान्त्रिक शासन प्रणालीमा राज्यको शक्ति कानुन र संस्थागत प्रक्रियाबाट निर्देशित हुनुपर्नेमा जोड दिएका छन्। सरकार लोकप्रियता वा राजनीतिक समर्थनका आधारमा मात्र नभई संवैधानिक व्यवस्था, कानुनी प्रक्रिया र संस्थागत मर्यादाअनुसार सञ्चालन हुनुपर्ने उनको धारणा छ।
प्रधानमन्त्री शाहलाई लक्षित गर्दै थापाले दिएको यो चेतावनीले सरकारको कार्यशैली, कानुनको प्रयोग र विधिको शासनको विषयलाई आगामी दिनमा कांग्रेसले राजनीतिक बहसको महत्वपूर्ण मुद्दा बनाउने संकेत गरेको छ।
Originally published on abcnews.com.np.


















प्रतिक्रिया दिनुहोस्