काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडले कल्याण विक्रम पाँडेलाई नायब प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) नियुक्त गरेको छ। बैंकका अनुसार पाँडेले साउन २९ गतेदेखि डीसीईओका रूपमा कार्यभार सम्हालिसकेका छन्।
बैंकिङ क्षेत्रमा करिब २५ वर्षको अनुभव हासिल गरेका पाँडेले यसअघि ग्लोबल आईएमई बैंक, तत्कालीन जनता बैंक, लक्ष्मी बैंक र कुमारी बैंकलगायत वित्तीय संस्थामा विभिन्न जिम्मेवारी सम्हालिसकेका छन्।
उनको व्यावसायिक अनुभव मुख्यतः रणनीतिक योजना तथा कार्यान्वयन, कर्पोरेट तथा एसएमई बैंकिङ, रिटेल बैंकिङ, व्यवसाय रूपान्तरण, डिजिटलाइजेसन, जोखिम व्यवस्थापन, अनुपालन, ट्रेड फाइनान्स तथा ट्रान्जेक्सन बैंकिङ क्षेत्रमा रहेको बैंकले जनाएको छ।
मर्जरदेखि हरित बैंकिङसम्मको अनुभव
पाँडेसँग बैंक तथा वित्तीय संस्थाको मर्जर तथा एक्विजिसन, वित्तीय विश्लेषण, नयाँ वित्तीय उत्पादन विकास तथा दिगो र हरित बैंकिङका क्षेत्रमा समेत अनुभव रहेको बैंकले जनाएको छ।
उनको शैक्षिक पृष्ठभूमि पनि वित्त र प्रविधिसँग सम्बन्धित छ। उनले बैंगलोर विश्वविद्यालयबाट वित्त विषयमा प्रथम श्रेणीमा एमबीए गरेका छन् भने अलिगढ मुस्लिम विश्वविद्यालयबाट इलेक्ट्रिकल इन्जिनियरिङमा अनर्ससहित बीटेक उपाधि हासिल गरेका छन्।
रणनीतिक विस्तारमा योगदानको अपेक्षा
बैंकले पाँडेको नियुक्तिबाट व्यवसाय विस्तार, ग्राहक सेवा सुधार तथा रणनीतिक लक्ष्य कार्यान्वयनमा थप प्रभावकारिता आउने अपेक्षा गरेको छ।
नेतृत्व क्षमता र नतिजामुखी कार्यशैलीका लागि परिचित पाँडेले अब बैंकका महत्वपूर्ण व्यवसायिक तथा संस्थागत क्षेत्रको जिम्मेवारी सम्हाल्नेछन्।
उनको कार्यक्षेत्रमा कर्पोरेट तथा पूर्वाधार बैंकिङ, एसएमई तथा रिटेल बैंकिङ, डिजिटलाइजेसन, जोखिम व्यवस्थापन र अनुपालन लगायतका प्रमुख क्षेत्र रहनेछन्।
करिब दुई दशकभन्दा लामो बैंकिङ अनुभव भएका पाँडेको नियुक्तिलाई माछापुच्छ्रे बैंकले आफ्नो व्यवसाय विस्तार र संस्थागत क्षमता सुदृढीकरणको रणनीतिसँग जोडेको छ।
Originally published on abcnews.com.np.







प्रतिक्रिया दिनुहोस्