बागलुङ । मनसुनसँगै ढोरपाटन घुम्न जाने पर्यटकको संख्या बढे पनि सडकको खराब अवस्थाका कारण यात्रुहरूले सास्ती खेप्नुपरेको छ। बागलुङको ढोरपाटन नेपालको एकमात्र सिकार आरक्ष क्षेत्रसमेत हो।
बागलुङबाट मध्यपहाडी लोकमार्ग हुँदै बुर्तिवाङसम्म पक्की सडक भए पनि बुर्तिवाङदेखि ढोरपाटनसम्मको सडक अझै कच्ची छ। सडक स्तरोन्नतिको काम जारी रहे पनि बर्खायाममा पहिरो र हिलोका कारण यात्रा जोखिमपूर्ण बनेको छ।
बुर्तिवाङ–ढोरपाटन सडकखण्डका एक दर्जनभन्दा बढी स्थानमा दैनिक पहिरो खस्ने गरेको स्थानीयले बताएका छन्। अघिल्लो साता पर्यटक बोकेर ढोरपाटनतर्फ जाँदै गरेको स्कार्पियो जीप पहिरोमा पुरिएर क्षतिग्रस्त भएको थियो। जीपमा सवार सबै यात्रुको सकुशल उद्धार गरिएको थियो।
घटनापछि पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले सडकको स्थलगत निरीक्षण गर्दै सडक कालोपत्रे गर्न पहल गर्ने प्रतिबद्धता जनाएका थिए।
२२ किलोमिटर सडक स्तरोन्नति
राष्ट्रिय प्राथमिकता प्राप्त सालझण्डी–ढोरपाटन सडक आयोजनाअन्तर्गत बुर्तिवाङ–फल्लेघर खण्डको २२ किलोमिटर सडक स्तरोन्नतिको काम भइरहेको छ।
ढोरपाटन नगरपालिकाका कार्यवाहक नगरप्रमुख धनबहादुर कायतका अनुसार सडक चौडा बनाएर ग्राभेल गरिए पनि बर्खायाममा सवारीसाधन फस्ने र पहिरो खस्ने समस्या कायमै छ।
फल्लेघर, सुकुर्दङलगायत क्षेत्रमा पहिरो र हिलाम्मे सडकका कारण यात्रुलाई समस्या हुने गरेको छ। विसं २०७८ कात्तिक ५ गते स्वच्छन्द–ओमबुद्ध जेभीसँग ३० महिनाभित्र काम सम्पन्न गर्ने सम्झौता भए पनि ढिलाइ हुँदा समस्या भएको कायतले बताए।
“हिउँदमा सक्नुपर्ने सडक बर्खामा काम गर्दा समस्या भयो। अहिले सडक चौडा बनाएपछि पहिरो खस्ने समस्या बढेको छ,” उनले भने।
पर्यटकको चाप बढे पनि सुरक्षालाई ध्यानमा राख्दै रातिको समयमा सवारीसाधन नचलाउन आग्रह गरिएको छ। सडक ग्राभेल भएपछि सामान्य अवस्थामा ढोरपाटनसम्मको आवागमन सहज भए पनि बर्खामा पहिरोका कारण समस्या भइरहेको नगरपालिकाले जनाएको छ।
२५ करोडभन्दा बढी लागत
सालझण्डी–ढोरपाटन सडक आयोजनाका सूचना अधिकारी परीक्षा पौडेलका अनुसार बुर्तिवाङ–फल्लेघर सडकखण्ड स्तरोन्नतिको लागत करिब २५ करोड ६१ लाख रुपैयाँ रहेको छ।
आयोजनाले सडक निर्माणको म्याद पटक–पटक थप गरेको छ। गत मंसिरमा तेस्रो पटक म्याद थप गरिएकोमा काम सम्पन्न नभएपछि गत जेठ मसान्तसम्मका लागि अन्तिम पटक म्याद थप गरिएको पौडेलले बताए।
पर्यटक भन्छन्– सुन्दरता मनमोहक, यात्रा कष्टकर
काठमाडौँबाट ढोरपाटन र बुकीपाटन घुम्न पुगेका सञ्जय रानाभाटले ढोरपाटनको प्राकृतिक सुन्दरता मनमोहक भए पनि सडक यात्रा कष्टकर रहेको बताए।
“ढोरपाटनको सुन्दरता जति बयान गरे पनि कम हुन्छ, तर यात्रा पनि उस्तै कष्टकर देखियो। नयाँ स्तरोन्नति भइरहेको सडकमा मोटरसाइकल फसेर हैरान भयो,” उनले भने।
रुपन्देहीको सालझण्डीबाट सुरु हुने सालझण्डी–ढोरपाटन सडक अर्घाखाँचीको सन्धिखर्क, पाल्पा र गुल्मी हुँदै बागलुङको ढोरपाटनसम्म पुग्छ।
पछिल्लो समय ढोरपाटन, बुकीपाटन र जलजला क्षेत्रमा पर्यटकको आगमन बढ्दै गएको छ। सडक अवरुद्ध हुँदा नगरपालिका र आयोजना कार्यालयले समन्वय गरी तत्काल खुलाउने प्रयास गर्दै आएका छन्।
एक वर्षमा ३७ हजार पर्यटक
ढोरपाटनमा गत आर्थिक वर्षमा मात्रै ३७ हजार पर्यटक पुगेको कार्यवाहक नगरप्रमुख कायतले बताए।
पर्यटकीय पूर्वाधार निर्माण, प्रचारप्रसार र होटल सुविधाको विस्तारसँगै ढोरपाटनमा पर्यटक आगमन बढिरहेको छ। तर सडक पूर्वाधारको कमजोर अवस्थाका कारण बर्खायाममा पर्यटकको यात्रा जोखिमपूर्ण बन्ने गरेको छ।
Originally published on abcnews.com.np.







प्रतिक्रिया दिनुहोस्