काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद रञ्जु न्यौपानेले नेपाल राष्ट्र बैंकमा सुन धितो राखेर कर्जा लिएका केही व्यक्तिहरू भदौ २४ गते भएको सुन लुटपाटपछि समस्यामा परेको भन्दै सरकारको ध्यानाकर्षण गराएकी छन्।
मंगलबार प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद न्यौपानेले राष्ट्र बैंकमा सुन धितो राखेर पैसा लिएका व्यक्तिहरूले लुटपाटपछि आफ्नो सुन वा त्यसको बजार मूल्यसमेत पाउन नसकेको बताइन्।
“नेपाल राष्ट्र बैंकमा सुन धितो राखेर पैसा लिनुभएकाहरूले भदौ २४ गते जुन सुन लुटियो, त्यसपछि उहाँहरूले सुन पनि पाउनुभएको छैन, सुनको बजार मूल्य पनि पाउनुभएको छैन,” उनले भनिन्, “उहाँहरूको हारगुहार सुनिदिनुपर्यो।”
उनले सुन धितो राखेर कर्जा लिएका व्यक्तिहरूको समस्या तत्काल समाधान गर्न सरकार तथा सम्बन्धित निकायले आवश्यक पहल गर्नुपर्ने बताइन्। पीडितहरूको अवस्था बुझेर उनीहरूको सम्पत्ति वा त्यसबापतको दाबीसम्बन्धी विषयमा स्पष्ट व्यवस्था गर्नुपर्ने उनको माग थियो।
सांसद न्यौपानेले थापाथलीस्थित प्रसूतिगृह पछाडि निर्माण गर्न लागिएको फोहोर प्रशोधन केन्द्रको विषयमा समेत सरकारको ध्यानाकर्षण गराइन्। उक्त क्षेत्रमा स्थानीय बासिन्दाले विरोध गरिरहेको तथा नजिकै अस्पताल रहेको उल्लेख गर्दै उनले फोहोर प्रशोधन केन्द्र निर्माण गर्दा वातावरणीय तथा स्वास्थ्यसम्बन्धी जोखिमको गम्भीर मूल्यांकन गर्नुपर्ने बताइन्।
विशेषगरी प्रसूतिगृहमा उपचाररत आमा तथा नवजात शिशुको स्वास्थ्यलाई ध्यानमा राखेर परियोजनाको स्थान, वातावरणीय प्रभाव र सञ्चालन व्यवस्थाबारे पुनर्विचार गर्नुपर्ने उनको भनाइ थियो।
न्यौपानेले स्वास्थ्य बीमा कार्यक्रमलाई प्रभावकारी रूपमा सञ्चालनमा ल्याउन पनि सरकारसँग माग गरिन्। स्वास्थ्य उपचार नागरिकको आधारभूत आवश्यकता भएकाले आर्थिक रूपमा कमजोर नागरिकले समेत सहज रूपमा उपचार पाउने वातावरण बनाउन स्वास्थ्य बीमालाई प्रभावकारी बनाउनुपर्ने उनले बताइन्।
उनले सरकारलाई सुन लुटपाटका पीडितको समस्या समाधान, संवेदनशील स्वास्थ्य संस्थानजिक फोहोर व्यवस्थापन केन्द्र निर्माणको पुनरावलोकन तथा स्वास्थ्य बीमाको प्रभावकारी कार्यान्वयनलाई प्राथमिकतामा राख्न आग्रह गरेकी छन्।
Originally published on abcnews.com.np.







प्रतिक्रिया दिनुहोस्