काठमाडौं । आफूलाई पक्राउ गर्न रोक्न माग गर्दै पत्रकार किशोर श्रेष्ठले उच्च अदालत पाटनमा रिट निवेदन दायर गरेका छन्। पक्राउविरुद्ध अन्तरिम आदेशको माग गर्दै श्रेष्ठ मंगलबार (भदौ २) उच्च अदालत पुगेका हुन्।
सोमबार (भदौ १) सर्वोच्च अदालतले श्रेष्ठलाई हाजिर जमानीमा थुनामुक्त गर्न परमादेश जारी गरेको थियो। त्यसपछि उपसभामुख रुबीकुमारी ठाकुरले श्रेष्ठविरुद्ध जिल्ला प्रहरी परिसर ललितपुरमा जाहेरी दिएकी थिइन्।
उक्त जाहेरीका आधारमा प्रहरीले पुनः पक्राउ गर्न सक्ने आशंका गर्दै श्रेष्ठले उच्च अदालतमा रिट दायर गरेका हुन्। रिटमा अनुसन्धानका क्रममा आफू प्रहरीसमक्ष आफैँ उपस्थित हुने प्रतिबद्धतासमेत जनाइएको छ।
श्रेष्ठले उनकी श्रीमती सरस्वती श्रेष्ठले दायर गरेको बन्दीप्रत्यक्षीकरण रिटमा सर्वोच्च अदालतबाट भएको रिहाइसम्बन्धी परमादेशको जानकारीसमेत उच्च अदालतलाई गराएका छन्।
जिल्ला अदालतबाट पक्राउ पुर्जीको अनुमति लिएर आफूलाई पक्राउ गर्न सक्ने आशंका व्यक्त गर्दै त्यसलाई रोक्न अन्तरिम आदेश जारी गर्न उनले माग गरेका छन्।
यसअघि प्रहरीले साउन २७ गते श्रेष्ठलाई पक्राउ गरेको थियो। जनआस्था पत्रिकामा प्रकाशित समाचारलाई लिएर परेको जाहेरीका आधारमा उनलाई पक्राउ गरिएको थियो। सर्वोच्च अदालतले उक्त पक्राउसम्बन्धी रिटमा सुनुवाइ गर्दै सोमबार श्रेष्ठलाई हाजिर जमानीमा थुनामुक्त गर्न परमादेश दिएको थियो।
Originally published on abcnews.com.np.







प्रतिक्रिया दिनुहोस्