काठमाडौं । प्रतिनिधिसभाको बैठकमा सभामुख डोलप्रसाद अर्यालले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद आशिका तामाङलाई संसदीय मर्यादा र गरिमाको ख्याल गर्न निर्देशन दिएका छन्।
मंगलबारको प्रतिनिधिसभा बैठकमा परराष्ट्रमन्त्री शिशिर खनालले दिएको जवाफप्रति असन्तुष्टि जनाउँदै सांसद तामाङले थप स्पष्टीकरण माग गरेपछि विवाद उत्पन्न भएको थियो।
केही दिनअघि आफूले उठाएको विषयमा मन्त्री खनालले दिएको जवाफ चित्त नबुझेको भन्दै तामाङले थप प्रश्न गर्न समय मागेकी थिइन्। तर सभामुख अर्यालले प्रतिनिधिसभा नियमावलीअनुसार थप प्रश्न गर्ने समय उपलब्ध नभएको जानकारी गराए।
सभामुखले पटक–पटक आसन ग्रहण गर्न आग्रह गरे पनि सांसद तामाङले आफ्नो प्रश्न राख्न पाउनुपर्ने अडान लिएपछि सभामुखले उनलाई संसदीय मर्यादा र सदनको गरिमाको ख्याल गर्न सचेत गराएका हुन्।
सभामुखबाट बोल्ने अनुमति नपाएपछि तथा थप स्पष्टीकरण राख्ने अवसर नदिइएको भन्दै सांसद तामाङ संसद् बैठकबाट बाहिरिएकी थिइन्।
नियमावलीलाई लिएर विवाद
मन्त्रीको जवाफमा चित्त नबुझेपछि थप प्रश्न गर्न खोजेकी सांसद तामाङलाई सभामुखले नियमावलीको व्यवस्थाअनुसार तत्काल थप प्रश्न गर्ने समय दिन नसकिने बताएका थिए।
सभामुखले बैठकको कार्यसूची र संसदीय प्रक्रिया कायम राख्न आग्रह गरे पनि सांसद तामाङले आफ्नो भनाइ राख्न खोजेपछि सदनमा केही समय विवादको अवस्था सिर्जना भएको थियो।
Originally published on abcnews.com.np.







प्रतिक्रिया दिनुहोस्