काठमाडौं । विदेशस्थित नेपाली नियोगहरूमा विदेशी नागरिकभन्दा नेपाली नागरिक स्थानीय कर्मचारीको संख्या बढी रहेको परराष्ट्रमन्त्री शिशिर खनालले जानकारी दिएका छन्।
मंगलबार प्रतिनिधिसभा बैठकमा सांसदहरूले विदेशस्थित नेपाली नियोगमा कार्यरत स्थानीय कर्मचारीबारे उठाएको प्रश्नको जवाफ दिँदै मन्त्री खनालले ३७४ दरबन्दीमध्ये १८५ पदमा नेपाली नागरिक र १२६ पदमा विदेशी नागरिक कार्यरत रहेको जानकारी दिए। केही पद राजदूत नियुक्त भएपछि मात्र पूर्ति हुने र राजदूत फिर्ता भएपछि ती पद रिक्त हुने उनले स्पष्ट पारे।
मन्त्री खनालका अनुसार विदेशस्थित नियोगमा स्थानीय कर्मचारी नियुक्त गर्नु विश्वव्यापी अभ्यास हो। नेपालबाट थप कर्मचारी पठाउनुभन्दा स्थानीयस्तरमा उपलब्ध जनशक्तिलाई करारमा नियुक्त गर्दा आर्थिक रूपमा मितव्ययी हुनुका साथै प्रशासनिक र कूटनीतिक काममा समेत सहज हुने उनको भनाइ छ।
९१ करोडभन्दा बढी तलबमा खर्च
परराष्ट्रमन्त्री खनालले गत आर्थिक वर्ष २०८२/८३ मा विदेशस्थित नेपाली नियोगका स्थानीय कर्मचारीको तलबमा ९१ करोड १७ लाख ३८ हजार रुपैयाँ खर्च भएको जानकारी दिए।
उनका अनुसार स्थानीय कर्मचारी व्यवस्थापनसम्बन्धी निर्देशिका, २०७२ बमोजिम नियोगहरूमा लोकल स्टाफ नियुक्त गरिँदै आएको छ।
कुन–कुन पदमा नियुक्ति?
नियोगको कार्य प्रकृति र कार्यबोझअनुसार अफिस सेक्रेटरी, लिगल एडभाइजर, ड्राइभर, मेसेन्जर, ट्रान्सलेटर, गार्डनर, सुरक्षा गार्ड र अफिस असिस्टेन्ट लगायतका पदमा स्थानीय कर्मचारी नियुक्त हुने गरेका छन्।
स्थानीय भाषा, कानुन र कार्यसंस्कृति बुझेका जनशक्तिबाट काम गराउँदा सेवा प्रवाह प्रभावकारी हुने भएकाले यस्ता पदमा स्थानीयस्तरबाटै कर्मचारी छनोट गर्ने गरिएको मन्त्री खनालले बताए।
यूएईमा १०, फिलिपिन्समा ७५ कर्मचारी
मन्त्री खनालले नेपाली नियोगमा रहेका स्थानीय कर्मचारीको संख्या अन्य देशको तुलनामा कम रहेको दाबी गरे।
उनका अनुसार करिब सात लाख नेपाली रहेको यूएईमा अबुधाबी र दुबईस्थित नेपाली नियोगमा जम्मा १० जना स्थानीय कर्मचारी कार्यरत छन्। त्यसको तुलनामा फिलिपिन्सका नियोगमा ७५ जना स्थानीय कर्मचारी रहेको उनले उदाहरण दिए।
त्यस्तै, करिब ३ लाख ५० हजार नेपाली रहेको श्रीलंकास्थित नेपाली नियोगमा ४० जनाभन्दा बढी स्थानीय कर्मचारी कार्यरत रहेको उनले जानकारी दिए।
Originally published on abcnews.com.np.







प्रतिक्रिया दिनुहोस्