काठमाडौं । विदेशस्थित नेपाली नियोगमा विदेशी नागरिकभन्दा नेपाली नागरिक स्थानीय कर्मचारीको संख्या बढी रहेको परराष्ट्रमन्त्री शिशिर खनालले जानकारी दिएका छन्।
मंगलबार प्रतिनिधिसभा बैठकमा सांसदहरूले उठाएको प्रश्नको जवाफ दिँदै मन्त्री खनालले विदेशस्थित नेपाली नियोगमा स्थानीय कर्मचारीका लागि ३७४ दरबन्दी स्वीकृत रहेकोमा १८५ पदमा नेपाली र १२६ पदमा विदेशी नागरिक कार्यरत रहेको बताए। बाँकी केही पद राजदूत नियुक्ति तथा फिर्तासँग सम्बन्धित हुने भएकाले रिक्त रहने गरेको उनले स्पष्ट पारे।
मन्त्री खनालका अनुसार कूटनीतिक नियोगमा स्थानीय कर्मचारी नियुक्त गर्नु विश्वव्यापी अभ्यास हो। नेपालबाट थप कर्मचारी पठाउनुभन्दा स्थानीयस्तरमा उपलब्ध जनशक्तिलाई करारमा नियुक्त गर्दा आर्थिक रूपमा मितव्ययी हुनुका साथै प्रशासनिक तथा कूटनीतिक काममा समेत सहज हुने उनको भनाइ छ।
तलबमा ९१ करोड खर्च
मन्त्री खनालले गत आर्थिक वर्ष २०८२/८३ मा विदेशस्थित नेपाली नियोगका स्थानीय कर्मचारीको तलबमा ९१ करोड १७ लाख ३८ हजार रुपैयाँ खर्च भएको जानकारी दिए।
स्थानीय कर्मचारी व्यवस्थापनसम्बन्धी निर्देशिका, २०७२ अनुसार नियोगहरूमा लोकल स्टाफ नियुक्त गर्ने गरिएको उनले बताए।
विभिन्न पदमा स्थानीय कर्मचारी
नियोगको कार्य प्रकृति र कार्यबोझअनुसार अफिस सेक्रेटरी, लिगल एडभाइजर, ड्राइभर, मेसेन्जर, ट्रान्सलेटर, गार्डनर, सुरक्षा गार्ड र अफिस असिस्टेन्ट लगायतका पदमा स्थानीय कर्मचारी नियुक्त हुने गरेका छन्।
स्थानीय भाषा, कानुन तथा कार्यसंस्कृति बुझेका कर्मचारीबाट काम गराउँदा सेवा प्रवाह प्रभावकारी हुने भएकाले ती पदमा स्थानीयस्तरबाटै कर्मचारी नियुक्त गर्ने गरिएको मन्त्री खनालले बताए।
यूएईमा १०, फिलिपिन्समा ७५
मन्त्री खनालले नेपाली नियोगमा स्थानीय कर्मचारीको संख्या अन्य देशको तुलनामा कम रहेको दाबी गरे।
उनका अनुसार करिब सात लाख नेपाली रहेको यूएईमा अबुधाबी र दुबईस्थित नेपाली नियोगमा जम्मा १० जना स्थानीय कर्मचारी कार्यरत छन्। त्यसको तुलनामा फिलिपिन्सका नियोगमा ७५ जना स्थानीय कर्मचारी रहेको उनले बताए।
त्यस्तै, करिब ३ लाख ५० हजार नेपाली रहेको श्रीलंकास्थित नेपाली नियोगमा ४० जनाभन्दा बढी स्थानीय कर्मचारी कार्यरत रहेको जानकारी उनले दिए।
Originally published on abcnews.com.np.







प्रतिक्रिया दिनुहोस्