काठमाडौं । सहकारी तथा लघुवित्तपीडितहरू आफ्ना माग सम्बोधनको माग गर्दै पुल्चोकस्थित राष्ट्रिय मानव अधिकार आयोगको प्रांगणमा पाँच दिनदेखि धर्नामा बसेका छन्। नागरिक बचाऔँ महाअभियानको नेतृत्वमा उनीहरूले आन्दोलन गरिरहेका हुन्।
पीडितहरूले आफ्नो समस्या समाधानका लागि संयुक्त राष्ट्रसंघको समेत ध्यानाकर्षण गराएका छन्। प्रधानमन्त्री वालेन्द्र शाह नेतृत्वको सरकारले आफूहरूको माग बेवास्ता गरेको आरोप लगाउँदै उनीहरूले आन्दोलनस्थलबाटै संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसलाई सम्बोधन गर्दै प्लेकार्ड प्रदर्शन गरेका छन्।
धर्नास्थलमा ‘बालेनले हामीलाई सुनेनन्, एन्टोनियो गुटेरेस तिमीले हाम्रो दुःख–पीडा सुनिदेऊ’ र ‘हाम्रो घर छैन, परिवार छैन, नेपालले देखेन, संयुक्त राष्ट्रसंघले देखोस् हाम्रो पीडा’ लगायतका नारासहितका प्लेकार्ड राखिएका छन्।
पीडितहरूले २०८२ माघमा तत्कालीन सरकारसँग भएको सहमति कार्यान्वयन गर्न माग गरेका छन्। उनीहरूले सो सहमति कार्यान्वयन गराउन मानव अधिकार आयोगमार्फत संयुक्त राष्ट्रसंघको ध्यानाकर्षण गराउन खोजेको बताएका छन्।
साउन २९ देखि धर्ना
पीडितहरूले आफ्ना माग सम्बोधन गर्न माग गर्दै गत साउन २९ गते राष्ट्रिय मानव अधिकार आयोगमा ज्ञापनपत्र बुझाएका थिए। ज्ञापनपत्र बुझाएकै दिनदेखि उनीहरूले आयोगको कार्यालयबाहिर धर्ना सुरु गरेका हुन्।
आन्दोलनरत पक्षले सहकारी तथा लघुवित्त क्षेत्रमा देखिएका समस्याका कारण पीडित बनेका नागरिकको माग तत्काल सम्बोधन गरी यसअघि सरकारसँग भएका सहमति कार्यान्वयन गर्नुपर्ने माग दोहोर्याएको छ।
Originally published on abcnews.com.np.







प्रतिक्रिया दिनुहोस्