ललितपुर । पत्रकार किशोर श्रेष्ठलाई पक्राउ गर्न जिल्ला अदालत, ललितपुरले अनुमति दिन अस्वीकार गरेको छ। उपसभामुख रुबीकुमारी ठाकुरको जाहेरीका आधारमा पक्राउ पुर्जी लिन सोमबार जिल्ला प्रहरी परिसर ललितपुरको टोली अदालत पुगे पनि अदालतले अनुमति नदिएको हो।
उपसभामुख ठाकुरले सोमबार नै श्रेष्ठविरुद्ध जिल्ला प्रहरी परिसर ललितपुरमा जाहेरी दर्ता गराएकी थिइन्। उनले जनआस्थाको फेसबुक पेज तथा अनलाइनमा आफ्नो व्यक्तिगत तस्बिर, मर्यादा र संवैधानिक ओजमा आँच पुर्याउने तथा चरित्र र प्रतिष्ठामा क्षति पुर्याउने उद्देश्यले भ्रामक समाचार प्रकाशित गरिएको आरोप लगाएकी छन्।
जाहेरीमा ठाकुरले प्रकाशित सामग्रीका कारण आफ्नो व्यक्तिगत, पारिवारिक तथा सामाजिक जीवनमा गम्भीर असर परेको उल्लेख गरेकी छन्। समाचारमा जोडिएका पुरुष आफूले रक्षाबन्धन बाँधेका दाजु रहेको दाबी गर्दै उनले आफूलाई अनैतिक सम्बन्धमा जोडेर चरित्र हत्या गर्ने प्रयास गरिएको आरोप लगाएकी छन्।
सर्वोच्चको आदेशपछि पुनः पक्राउ प्रयास
यसअघि अर्की युवतीसँग राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदलाई जोडेर प्रकाशित समाचारका विषयमा पनि श्रेष्ठ पक्राउ परेका थिए। वैयक्तिक गोपनीयता उल्लङ्घनको आरोपमा पक्राउ परेका श्रेष्ठलाई सोमबार सर्वोच्च अदालतले हाजिर जमानीमा थुनामुक्त गर्न परमादेश जारी गरेको थियो।
सर्वोच्चको आदेशपछि उपसभामुख ठाकुरको जाहेरीमा प्रहरीले श्रेष्ठलाई पुनः पक्राउ गर्न अदालतबाट अनुमति मागेको थियो। तर जिल्ला अदालतले पक्राउ पुर्जी जारी गर्न अनुमति नदिएपछि तत्काल पक्राउ गर्ने प्रहरीको प्रयास रोकिएको छ।
Originally published on abcnews.com.np.







प्रतिक्रिया दिनुहोस्