वासिङ्टन डीसी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको लोकप्रियता लगातार कमजोर बन्दै गएको नयाँ रोयटर्स/इप्सोस सर्वेक्षणले देखाएको छ। सर्वेक्षणअनुसार ट्रम्पको कार्यसम्पादनलाई अनुमोदन गर्ने अमेरिकीको संख्या घटेर ३३ प्रतिशतमा पुगेको छ, जुन उनको वर्तमान कार्यकालको सबैभन्दा न्यून स्तर हो।
सर्वेक्षणमा ६४ प्रतिशत अमेरिकीले ट्रम्पको कार्यसम्पादन अस्वीकार गरेका छन् भने ३३ प्रतिशतले मात्र अनुमोदन गरेका छन्। यसअघि यही महिनाको सुरुमा गरिएको सर्वेक्षणमा ट्रम्पको अनुमोदन दर ३५ प्रतिशत थियो। अहिलेको ३३ प्रतिशत दर उनको पहिलो कार्यकालमा सन् २०१७ को डिसेम्बरमा देखिएको न्यूनतम स्तरसँग पनि बराबर भएको छ।
ट्रम्पको लोकप्रियता घट्नुमा अमेरिका–इरान युद्ध र त्यसबाट सिर्जित आर्थिक तथा सुरक्षा चिन्ताले महत्वपूर्ण भूमिका खेलेको देखिन्छ। इरानमाथि अमेरिका र इजरायलले सुरु गरेको सैन्य कारबाही लामो समयसम्म तानिँदै जाँदा अमेरिकी मतदातामाझ युद्धप्रतिको असन्तुष्टि बढेको सर्वेक्षणले देखाएको छ।
८० प्रतिशत अमेरिकीलाई युद्ध लम्बिने चिन्ता
सर्वेक्षणमा सहभागीमध्ये करिब ८० प्रतिशत अमेरिकीले अमेरिका इरान युद्ध अझ लामो समयसम्म चल्ने चिन्ता व्यक्त गरेका छन्। यस्तो धारणा डेमोक्र्याट र रिपब्लिकन दुवै पक्षका मतदातामा देखिएको छ।
डेमोक्र्याटमध्ये ८७ प्रतिशत र रिपब्लिकनमध्ये ७१ प्रतिशतले युद्ध लामो समयसम्म चल्ने सम्भावना रहेको बताएका छन्। केवल १६ प्रतिशतले मात्र युद्ध केही साताभित्र अन्त्य हुने अपेक्षा गरेका छन्।
युद्ध अमेरिकाका लागि उचित थियो कि थिएन भन्ने प्रश्नमा पनि समर्थन कमजोर देखिएको छ। सर्वेक्षणमा करिब पाँचमध्ये एक अमेरिकीले मात्र युद्ध यसको मूल्य चुकाउन योग्य भएको बताएका छन्। रिपब्लिकन मतदातामध्ये पनि करिब आधाले मात्र यस्तो धारणा राखेका छन्।
इन्धनको मूल्यदेखि आर्थिक दबाबसम्म
इरानसँगको युद्धले विश्वव्यापी तेल व्यापारमा असर पारेपछि अमेरिकामा पेट्रोलको मूल्य बढेको विषय पनि ट्रम्प प्रशासनका लागि राजनीतिक चुनौती बनेको छ। ट्रम्पले युद्ध सुरु गर्दा द्वन्द्व केही सातामै समाप्त हुने संकेत गरेका थिए। तर इरानको प्रतिरोध जारी रहँदा युद्ध लम्बिएको छ र हर्मुज जलमार्गमा तेल तथा अन्य समुद्री व्यापार प्रभावित भएको छ।
ट्रम्पले पछिल्लो समय अमेरिकी नागरिकले पेट्रोलका लागि “थोरै बढी” रकम तिर्नुपर्ने भए पनि इरानलाई आणविक हतियार विकास गर्नबाट रोक्नु त्यसको तुलनामा महत्वपूर्ण रहेको तर्क गर्दै आएका छन्। तर सर्वेक्षणले यस्तो तर्कप्रति जनसमर्थन सीमित रहेको संकेत गरेको छ।
मध्यावधि निर्वाचनअघि रिपब्लिकनमाथि दबाब
ट्रम्पको घट्दो लोकप्रियता आगामी नोभेम्बर ३ को अमेरिकी मध्यावधि निर्वाचनका लागि रिपब्लिकन पार्टीका लागि चुनौती बन्न सक्ने देखिएको छ। विशेषगरी अर्थतन्त्र र जीवनयापन खर्चका विषयमा डेमोक्र्याटले पुनः प्रतिस्पर्धात्मक लाभ हासिल गर्न थालेका छन्।
रोयटर्स/इप्सोसको पछिल्लो सर्वेक्षणमा ३८ प्रतिशत मतदाताले अर्थतन्त्र व्यवस्थापनमा डेमोक्र्याटलाई राम्रो मानेका छन् भने ३५ प्रतिशतले रिपब्लिकनलाई रोजेका छन्। यो विषयमा डेमोक्र्याटले लामो समयपछि रिपब्लिकनमाथि अग्रता बनाएको हो।
आप्रवासन नीतिमा भने रिपब्लिकन अझै अगाडि छन्। तर त्यसमा पनि उनीहरूको अग्रता तीव्र रूपमा घटेको छ। अहिले ४० प्रतिशत दर्ता मतदाताले रिपब्लिकनलाई राम्रो मानेका छन् भने ३८ प्रतिशतले डेमोक्र्याटलाई रोजेका छन्। सन् २०२५ को जनवरीमा यही विषयमा रिपब्लिकनको अग्रता २६ प्रतिशत अंक थियो।
ट्रम्प प्रशासनले इरानविरुद्धको सैन्य अभियानलाई आणविक खतरा रोक्ने आवश्यक कदमका रूपमा प्रस्तुत गर्दै आएको छ। तर युद्ध लम्बिँदै जाँदा यसको प्रभाव अमेरिकी उपभोक्ताको खर्च, पेट्रोलको मूल्य र समग्र आर्थिक धारणामा देखिन थालेको छ।
यही कारण आगामी मध्यावधि निर्वाचनअघि ट्रम्पका लागि विदेश नीतिको प्रश्न घरेलु राजनीतिक मुद्दासमेत बन्दै गएको छ। पछिल्लो सर्वेक्षणले युद्ध, महँगी र जीवनयापन खर्चप्रतिको असन्तुष्टि ट्रम्पको राजनीतिक लोकप्रियतामाथि प्रत्यक्ष दबाब सिर्जना गरिरहेको संकेत गरेको छ।
रोयटर्स/इप्सोसले यो सर्वेक्षणमा देशभरका १,१६६ अमेरिकी वयस्कलाई अनलाइनमार्फत समेटेको थियो। सर्वेक्षणको त्रुटि सीमा करिब ±३ प्रतिशत अंक रहेको छ।
Originally published on abcnews.com.np.







प्रतिक्रिया दिनुहोस्