काठमाडौं । खाना पकाउने ग्यासको अभावले विद्यार्थीहरू समस्यामा परेको भन्दै नेपाल विद्यार्थी संघ (नेविसंघ)ले सरकारविरुद्ध प्रदर्शन गरेको छ। नेविसंघले मंगलबार काठमाडौंस्थित त्रिचन्द्र क्याम्पसमा खाली सिलिन्डर बोकेर विरोध प्रदर्शन गरेको हो।
ग्यासको अभावका कारण विद्यार्थीको दैनिक जीवन तथा अध्ययन प्रभावित भएको भन्दै समस्या तत्काल समाधान गर्न सरकारको ध्यानाकर्षण गराउने उद्देश्यले प्रदर्शन गरिएको नेविसंघले जनाएको छ।
प्रदर्शनमा सहभागी विद्यार्थीहरूले ‘नो लाइन भनेको होइन सरकार ? ग्यासमा लाइन किन देखियो ?’, ‘चुल्हो निभ्यो पढाइ रोकियो, सरकारको व्यवस्थापन कहाँ हरायो ?’, ‘विद्यार्थीको हातमा कलम चाहिन्छ, खाली सिलिन्डर होइन’ लगायतका नारा लेखिएका प्लेकार्ड बोकेका थिए।
त्यसैगरी उनीहरूले ‘ग्यासको समस्या समाधान गर्’ र ‘विद्यार्थीको समस्या समाधान गर्’ भन्दै सरकारसँग माग गरेका थिए।
तत्काल ग्यास उपलब्ध गराउन माग
नेविसंघले बजारमा देखिएको ग्यास अभाव तत्काल अन्त्य गरी विद्यार्थी तथा सर्वसाधारणलाई सहज रूपमा खाना पकाउने ग्यास उपलब्ध गराउन सरकारसँग माग गरेको छ।
ग्यासको सहज आपूर्तिका लागि यसअघि पनि सरकारको ध्यानाकर्षण गराउँदै आएको भए पनि समस्या समाधान नभएको भन्दै विरोध प्रदर्शन गर्नुपरेको नेविसंघको भनाइ छ। संगठनले ग्यास आपूर्ति व्यवस्थापन प्रभावकारी बनाउन र विद्यार्थीले भोगिरहेको समस्या तत्काल समाधान गर्न सरकारसँग आग्रह गरेको छ।
Originally published on abcnews.com.np.

















प्रतिक्रिया दिनुहोस्