काठमाडौं । बलिउड अभिनेता शाहरुख खानको मुम्बईस्थित चर्चित बंगला ‘मन्नत’को परिसरमा दुईवटा सर्प भेटिएका छन्। सोमबार साँझ सर्प देखिएको सूचना पाएपछि सुरक्षाकर्मीले तत्काल सर्प उद्धार टोलीलाई बोलाएका थिए। टोलीले एउटा सर्पलाई सुरक्षित रूपमा उद्धार गरे पनि अर्को भने फेला पार्न सकेको छैन।
‘हिन्दुस्तान टाइम्स’का अनुसार सोमबार राति करिब ८ बजे ‘मन्नत’ परिसरमा दुईवटा सर्प देखिएको जानकारी उद्धारकर्तालाई दिइएको थियो। त्यसपछि टोलीले बंगला परिसरमा खोजी सुरु गरेको थियो। खोजीका क्रममा एउटा सर्पलाई भर्याङमुनि लुकेको अवस्थामा नियन्त्रणमा लिइएको हो।
उद्धार गरिएको सर्प करिब ८ फिट लामो रहेको र त्यसलाई धामन अर्थात् इन्डियन र्याट स्नेकका रूपमा पहिचान गरिएको उद्धारकर्ताले बताएका छन्। उनीहरूका अनुसार धामन विषालु सर्प होइन।
चहलपहल बढेपछि अर्को सर्प भाग्यो
बंगला परिसरमा मानिसहरूको आवतजावत बढेपछि अर्को सर्प भागेको बताइएको छ। अबेर रातिसम्म खोजी जारी राखिए पनि दोस्रो सर्प फेला पर्न सकेन।
उद्धार गरिएको सर्प विषालु नरहेको पुष्टि भएपछि ‘मन्नत’का सुरक्षाकर्मी तथा कर्मचारीले राहत महसुस गरेका छन्। दोस्रो सर्पको खोजी भने जारी राखिएको जनाइएको छ।
पुनर्निर्माणका कारण अपार्टमेन्टमा बस्दै शाहरुख
शाहरुख खानको बंगला आधिकारिक रूपमा ‘मन्नत ल्यान्ड्स एन्ड’ नामले चिनिन्छ। मुम्बईको बान्द्रा क्षेत्रमा ब्यान्डस्ट्यान्डस्थित समुद्र किनारमा रहेको यो घर मुम्बईका चर्चित स्थलमध्ये एक हो। शाहरुखका प्रशंसकहरू उनलाई हेर्न प्रायः बंगला बाहिर जम्मा हुने गर्छन्।
‘मन्नत’मा पछिल्ला केही महिनादेखि पुनर्निर्माण तथा मर्मतसम्भारको काम भइरहेको छ। त्यसैले शाहरुख अहिले परिवारसहित बान्द्रा क्षेत्रकै विलासी अपार्टमेन्टमा बसिरहेका छन्।
पाली हिल, बान्द्रास्थित चारतले पूजा कासा अपार्टमेन्टको मासिक भाडा करिब २४ लाख रुपैयाँ रहेको बताइएको छ। शाहरुख र उनको परिवार आगामी दुई वर्षसम्म सोही अपार्टमेन्टमा रहनेछन्।
फिल्म निर्माता वासु भगनानीले निर्माण गरेको उक्त अपार्टमेन्टको स्वामित्व उनका छोरा ज्याकी भगनानी र छोरी दीपशिखा देशमुखसँग रहेको बताइएको छ।
Originally published on abcnews.com.np.







प्रतिक्रिया दिनुहोस्