काठमाडौं । आज (बुधबार) बसेको मन्त्रिपरिषद् बैठकले सहसचिव कमलप्रसाद भट्टराईलाई सचिव पदमा बढुवा गरेको छ। सरकारका प्रवक्ता एवं शिक्षामन्त्री सस्मित पोखरेलले पत्रकार सम्मेलनमार्फत जानकारी दिँदै भन्नुभयो, “बैठकले उहाँलाई सचिवमा बढुवा गरी बागमती प्रदेशको प्रमुख सचिवमा पदस्थापन गर्ने निर्णय गरेको हो।”
भट्टराई हाल बागमती प्रदेशका कायममुकायम प्रमुख सचिवको जिम्मेवारी सम्हालिरहेका छन्। साउन २८ गते बसेको सचिव बढुवा सिफारिस समितिको बैठकले नेपाल प्रशासन सेवाको सचिव पदमा बढुवाका लागि भट्टराई, इन्दु घिमिरे र श्रीकृष्ण नेपालको नाम सिफारिस गरेको थियो।
लोक सेवा आयोगका कार्यवाहक अध्यक्ष माधव बेल्वासे नेतृत्वको समितिले बागमती प्रदेशका कायममुकायम प्रमुख सचिव भट्टराई, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयकी सहसचिव घिमिरे र एसियाली विकास बैंक (एडिबी) का वैकल्पिक कार्यकारी निर्देशक नेपाललाई सिफारिस गरेको थियो। नयाँ निजामती सेवा ऐनमा व्यवस्था गरिएको ३० वर्षे सेवा अवधि र ५५ वर्षे उमेर हदले नछुने भएकाले भट्टराईलाई बढुवा गरिएको बताइएको छ।
सिफारिस समितिको निर्णय
सचिव बढुवा सिफारिस समितिले एक नम्बरमा कमलप्रसाद भट्टराई, दुई नम्बरमा इन्दु घिमिरे र तीन नम्बरमा श्रीकृष्ण नेपालको नाम सिफारिस गरेको थियो। समितिले लोक सेवा आयोगबाट प्राप्त सिफारिसका आधारमा सो निर्णय लिएको हो।
Originally published on abcnews.com.np.


















प्रतिक्रिया दिनुहोस्