काठमाडौं । किरात याक्थुम चुम्लुङ हङकङको १४औँ अधिवेशनले श्यामकुमार इङ्नाम र लक्ष्मी पन्धाकको संयुक्त नेतृत्वमा २१ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको छ।
अगस्ट १६ मा याउ मा तेईस्थित द हेनरी जी लेइङ कम्युनिटी सेन्टरमा सम्पन्न अधिवेशनले इङ्नामलाई पहिलो वरीयता र पन्धाकलाई अध्यक्ष चयन गरेको हो। नयाँ कार्यसमितिको कार्यकाल तीन वर्षको हुनेछ। आन्तरिक सहमतिअनुसार दुवै अध्यक्षले डेढ/डेढ वर्ष नेतृत्व गर्नेछन्।
वरिष्ठ उपाध्यक्षमा खगेन्द्र लावती तथा उपाध्यक्षमा रुबी मादेन र मनिता साँबा चयन भएका छन्। महासचिवमा मौसम इम्बुङ, सचिवमा हाङ्स्रोङ युन्छोमा र आङ्बुहाङ रामकुमारी, कोषाध्यक्षमा रविन कुमार नाल्बो तथा सहकोषाध्यक्षमा भक्तराज वनेम निर्वाचित भएका छन्।
सदस्यमा हेमराज आङ्छङ्बो लिम्बु, माया खापुङ, वसन्त आङ्बुहाङ, दिलु थेवे, चेन्द्रु मोराहाङ, लोकेन्द्र हुक्पाचोङ्बाङ, भीम तुम्बाहाङ्फे, सुदीप थक्लुङ र हाङ चेम्जोङ चयन भएका छन्। बाँकी चार सदस्यलाई नवनिर्वाचित कार्यसमितिको पहिलो बैठकबाट मनोनयन गरिने अध्यक्ष इङ्नामले जानकारी दिए।
सन् १९९६ मा स्थापित चुम्लुङले लिम्बू समुदायको भाषा, कला, संस्कृति, भेषभूषा र परम्पराको संरक्षण तथा संवर्द्धनसँगै हङकङमा रहेका लिम्बू समुदायबीच आपसी हित र सहयोग अभिवृद्धि गर्दै आएको छ। संस्थाले हङकङमा रहेका अन्य संघसंस्थासँग सहकार्य र सामाजिक सद्भाव बढाउने उद्देश्यसमेत राखेको छ।
सन् २०१६ मा चुम्लुङले नेपालीको घनाबस्ती रहेको जोर्डन क्षेत्रमा आफ्नै भवन ‘चुम्लुङ हिम’ खरिद गरेको थियो।
‘किरात’ शब्द हटाउने बहसबारे इङ्नामको धारणा
पछिल्लो समय लिम्बू समुदायभित्रकै केही समूहले लिम्बू किरात समुदायभित्र नपर्ने भन्दै संस्थाको नामबाट ‘किरात’ शब्द हटाउनुपर्ने आवाज उठाउँदै आएका छन्।
यस विषयमा अध्यक्ष इङ्नामले ऐतिहासिक विरासतलाई भुल्न नहुने बताएका छन्। उनका अनुसार केही व्यक्तिले सामाजिक सञ्जालमार्फत धारणा राख्दैमा समस्याको समाधान नहुने भएकाले यस विषयमा बृहत् बहस आवश्यक छ।
‘तीन दशक पुरानो संस्थाले इतिहास बनाइसकेको छ। यस्ता विषयलाई टुंगो लगाउन बृहत् बहस हुन जरुरी छ। सामाजिक सञ्जालमा हल्ला गरेर समस्याको समाधान हुँदैन,’ उनले भने।
धरानको विजयपुरसम्बन्धी विवाद पनि संवाद र वार्ताबाट समाधान गर्नुपर्नेमा उनले जोड दिए। सबै पक्षको सहअस्तित्व र पहिचानको सम्मान गर्नुपर्ने उनको भनाइ छ।
लिम्बू भाषा कक्षा सञ्चालन गर्ने योजना
इङ्नामले आफ्नो नेतृत्वकालमा लिम्बू भाषाका कक्षा सञ्चालनलाई प्राथमिकता दिने बताएका छन्। साथै नयाँ पुस्तालाई क्रमशः नेतृत्व हस्तान्तरण गर्दै पुरानो पुस्ता अभिभावकीय भूमिकामा रहनुपर्नेमा पनि उनले जोड दिएका छन्।
पेसाले सिभिल इन्जिनियर रहेका इङ्नाम सम्मान निर्माण कम्पनी र सेक्यु एकाडेमी ट्रेनिङ सेन्टरका निर्देशक हुन्। उनी हङकङका आधा दर्जनभन्दा बढी संस्थामा आबद्ध छन्। उनले हङकङ पोलिटेक्निक युनिभर्सिटीबाट सिभिल इन्जिनियरिङमा स्नातकोत्तर गरेका छन्।
इङ्नामका अनुसार हङकङमा करिब पाँच हजार लिम्बू समुदायका मानिस बसोबास गर्छन्।
अधिवेशनका अवसरमा लिम्बू समुदायको सांस्कृतिक पहिचान झल्काउने च्याब्रुङ नाचसमेत प्रस्तुत गरिएको थियो।
Originally published on abcnews.com.np.







प्रतिक्रिया दिनुहोस्