काठमाडौं । लामखुट्टेको टोकाइबाट सर्ने जापानिज इन्सेफलाइटिस (जेई) नेपालमा गम्भीर स्वास्थ्य चुनौतीका रूपमा देखिएको छ। स्वास्थ्य अधिकारीहरूका अनुसार पछिल्लो पाँच वर्षमा मात्रै जेई संक्रमणबाट ११० जनाको मृत्यु भएको छ।
जापानिज इन्सेफलाइटिस जापानी इन्सेफलाइटिस भाइरसबाट हुने गम्भीर संक्रमण हो। यो भाइरस मुख्यतः क्युलेक्स जातको लामखुट्टेबाट मानिसमा सर्छ। संक्रमित लामखुट्टेले सुँगुर तथा चरालगायतका जनावरबाट भाइरस लिएर मानिसलाई टोक्दा संक्रमण फैलिन्छ। जेई मानिसबाट मानिसमा प्रत्यक्ष सर्दैन।
मस्तिष्कमा गम्भीर असर
विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का अनुसार जेई भाइरसले मुख्यतः मस्तिष्कमा असर गर्छ। संक्रमित व्यक्तिमा उच्च ज्वरो, टाउको दुख्ने, घाँटी तथा मांसपेशी कडा हुने र वान्ता हुनेजस्ता लक्षण देखिन सक्छन्।
संक्रमण गम्भीर बन्दै गएमा बिरामी बेहोस हुने, असामान्य व्यवहार देखाउने, अनियन्त्रित गतिविधि हुने तथा कोमामा पुग्ने अवस्था आउन सक्छ। दृष्टि, बोली र स्मरण शक्तिमा समस्या देखिनुका साथै मांसपेशी कमजोर हुने र पक्षाघातसमेत हुन सक्छ। गम्भीर संक्रमणबाट मृत्यु हुनसक्ने र निको भएका व्यक्तिमा समेत दीर्घकालीन स्नायुसम्बन्धी समस्या रहन सक्ने चिकित्सकहरू बताउँछन्।
संक्रमित लामखुट्टेले टोकेको सामान्यतया ५ देखि १५ दिनपछि लक्षण देखिन थाल्छ।
नेपालमा कहिलेदेखि देखियो?
नेपालमा सन् १९७८ अर्थात् २०३५ सालमा पहिलोपटक जेई संक्रमण पुष्टि भएको थियो। स्वास्थ्य सेवा विभागका अनुसार २०६६ सालसम्ममा संक्रमण २० जिल्लामा फैलिएको थियो।
जोखिम बढ्दै गएपछि सरकारले २०६६ सालमा एक वर्षभन्दा माथिका बालबालिकालाई लक्षित गरी जेईविरुद्ध खोप अभियान सञ्चालन गरेको थियो। त्यसपछि २०७३ सालमा पुनः विशेष खोप अभियान सञ्चालन गरियो।
हाल जेईविरुद्धको खोप नियमित खोप कार्यक्रमअन्तर्गत १२ महिना पुगेका बालबालिकालाई दिइँदै आएको छ।
हरेक वर्ष बढ्दो मृत्यु
उपलब्ध तथ्यांकअनुसार सन् २०२२ मा ७९ जनामा जेई संक्रमण पुष्टि हुँदा चार जनाको मृत्यु भएको थियो। सन् २०२३ मा १०८ संक्रमितमध्ये २० जनाको मृत्यु भयो भने सन् २०२४ मा ८६ संक्रमितमध्ये २८ जनाले ज्यान गुमाए।
गत वर्ष जेईबाट ४१ जनाको मृत्यु भएको थियो भने यस वर्ष हालसम्म १७ जनाको मृत्यु भइसकेको स्वास्थ्य मन्त्रालयअन्तर्गत परिवार कल्याण महाशाखाले जनाएको छ। हालसम्म ४६६ जनामा संक्रमण पुष्टि भएको जनाइएको छ।
खोप शाखा प्रमुख डा. अभियान गौतमका अनुसार जेईबाट हुने मृत्युदर कतिपय वर्षमा ३० प्रतिशतसम्म पुग्ने गरेको छ। यस वर्ष २३ जिल्लाका ५१ स्थानीय तहमा संक्रमण पुष्टि भएको उनले जानकारी दिएका छन्।
धान खेत आसपास बढी जोखिम
जेई विशेषगरी धान खेती हुने क्षेत्रमा बढी देखिने गर्छ। धान खेतमा जम्ने पानी क्युलेक्स लामखुट्टेको प्रजननका लागि अनुकूल हुने भएकाले यस्ता क्षेत्रमा संक्रमणको जोखिम बढी हुन्छ।
डब्ल्यूएचओका अनुसार एसिया जेईको प्रमुख जोखिम क्षेत्र हो। दक्षिण एसियामा नेपालसहित भारत, बंगलादेश र श्रीलंका उच्च जोखिममा रहेका देश हुन्।
उपचारभन्दा रोकथाममा जोड
जापानिज इन्सेफलाइटिसको भाइरसविरुद्ध विशेष उपचार उपलब्ध छैन। संक्रमण भएपछि बिरामीको लक्षणअनुसार उपचार गरिन्छ। त्यसैले खोप र लामखुट्टेको टोकाइबाट बच्नु नै मुख्य रोकथामका उपाय हुन्।
स्वास्थ्य विज्ञहरूले सुत्दा झुल प्रयोग गर्न, बाहिर निस्कँदा शरीर ढाक्ने कपडा लगाउन तथा घर वरपर पानी जम्न नदिन सुझाव दिएका छन्। ज्वरो, टाउको दुख्ने, बान्ता हुने, घाँटी कडा हुने वा चेतनाको अवस्थामा परिवर्तनजस्ता लक्षण देखिए तत्काल स्वास्थ्य संस्थामा पुग्न उनीहरूले आग्रह गरेका छन्।
Originally published on abcnews.com.np.







प्रतिक्रिया दिनुहोस्