पेरिस । अत्यधिक गर्मीका कारण फ्रान्सेली च्याम्पियन पेरिस सेन्ट जर्मेन (पीएसजी) ले लिग–१ को नयाँ सिजनको पहिलो खेलको स्थान परिवर्तन गरेको छ।
पार्क डे प्रिन्सेसको मैदान अत्यधिक गर्मीका कारण क्षतिग्रस्त भएपछि पीएसजीले रेनेसविरुद्धको खेल ब्रिटनीमा सार्ने भएको हो।
पीएसजीले आइतबार घरेलु मैदानमा रेनेसविरुद्ध खेल्दै उपाधि रक्षाको सुरुवात गर्ने तालिका थियो। तर, लिग द फुटबल प्रोफेसनलका अधिकारीहरूले मैदानको अवस्थाको निरीक्षण गरेपछि खेलाडीको स्वास्थ्य तथा सुरक्षालाई ध्यानमा राख्दै त्यहाँ खेल सञ्चालन गर्न अनुमति नदिने निर्णय गरेका हुन्।
पीएसजीले सेप्टेम्बर ४ मा मोनाकोविरुद्ध हुने खेलअघि पार्क डे प्रिन्सेसको मैदान पुनः तयार पार्ने जनाएको छ। असाधारण परिस्थितिका कारण खेलको स्थान परिवर्तन गर्नुपरेको भन्दै क्लबले समर्थक तथा सरोकारवालासँग क्षमायाचना गरेको छ।
गर्मीको प्रभाव
फ्रान्सले गत जुन २४ मा अहिलेसम्मकै सबैभन्दा गर्मी दिनमध्ये एक सामना गरेको थियो। त्यस दिन पेरिसको तापक्रम करिब ४१ डिग्री सेल्सियस पुगेको थियो भने देशको आधाभन्दा बढी क्षेत्रमा अत्यधिक गर्मीसम्बन्धी रेड अलर्ट जारी गरिएको थियो।
अत्यधिक गर्मीका कारण फ्रान्समा मृत्युदरसमेत उल्लेख्य रूपमा बढेको बताइएको छ। जुन २२ देखि २८ सम्मको अवधिमा फ्रान्समा २ हजार २५ जनाको मृत्यु भएको र यो सामान्य अवस्थाको तुलनामा करिब ३० प्रतिशत बढी रहेको जनाइएको छ। सोही अवधिमा पेरिस क्षेत्रमा मात्रै मृत्युदर ६२ प्रतिशतले बढेको थियो।
पश्चिमी युरोपका अन्य क्षेत्रमा पनि तापक्रम उच्च रहँदा फ्रान्सका विभिन्न स्थानमा डढेलो फैलिएको बताइएको छ।
Originally published on abcnews.com.np.







प्रतिक्रिया दिनुहोस्