काठमाडौं । नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) को आयोजनामा आगामी भदौ १८ गते हुने एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड २०८२ मा इम्बार्क कलेजले ‘हायर एजुकेसन पार्टनर’का रूपमा सहकार्य गर्ने भएको छ।
एनएसजेएफका अध्यक्ष निरञ्जन अधिकारी र इम्बार्क कलेजका कार्यकारी निर्देशक तथा सीईओ आशिष ठाकुरको तर्फबाट निरज न्यौपानेले सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन्।
सम्झौताअनुसार एनएसजेएफले छनोट गर्ने एक जना राष्ट्रिय खेलाडीलाई इम्बार्क कलेजले स्नातक वा स्नातकोत्तर तहको पूर्ण छात्रवृत्ति प्रदान गर्नेछ। छात्रवृत्तिको अधिकतम रकम १८ लाख रुपैयाँसम्म हुनेछ। यस्तै, एनएसजेएफ एकेडेमीले आयोजना गर्ने अनुसन्धान, तालिम तथा मेन्टरसिप कार्यक्रममा पनि कलेजले सहयोग गर्नेछ।
पिपल्स च्वाइसको मनोनयन सार्वजनिक
स्पोर्ट्स अवार्डको २३औँ संस्करणअन्तर्गत पिपल्स च्वाइस अवार्डका लागि पाँच खेलाडी मनोनयनमा परेका छन्।
मनोनयनमा फुटबलकी पूजा राना, एमएमएका रविन्द्र ढाँट, क्रिकेटका शेर मल्ल, भलिबलकी मिना सुनार र कराँतेकी सानु माया थिङ रहेका छन्।
उनीहरूलाई खल्ती वालेट, एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्डको फेसबुक पेज तथा पल्सर नेपालको फेसबुक पेजमार्फत मतदान गर्न सकिनेछ।
नौ विधामा पुरस्कार
यस वर्षको अवार्डमा पिपल्स च्वाइससहित उत्कृष्ट पुरुष खेलाडी, उत्कृष्ट महिला खेलाडी, युवा वर्ष खेलाडी, वर्ष प्रशिक्षक, पारा एथलिट सम्मान, स्पेसल अवार्ड, लाइफटाइम एचिभमेन्ट अवार्ड र एसियन स्पोर्ट्स जर्नालिस्ट अवार्ड गरी नौ विधा समावेश छन्।
पिपल्स च्वाइस, वर्ष खेलाडी पुरुष तथा महिला, युवा खेलाडी र प्रशिक्षक विधाका विजेताले पल्सर मोटरसाइकल प्राप्त गर्नेछन्। अन्य विधाका विजेतालाई जनही एक लाख रुपैयाँ प्रदान गरिनेछ।
अवार्ड नेपाली खेलकुदमा योगदान पुर्याउने खेलाडी, प्रशिक्षक तथा खेलकर्मीलाई सम्मान र प्रोत्साहन गर्ने उद्देश्यले आयोजना हुँदै आएको छ।
Originally published on abcnews.com.np.







प्रतिक्रिया दिनुहोस्