काठमाडौँ । सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले पत्रपत्रिका वर्गीकरण तथा लोककल्याणकारी विज्ञापन वितरण प्रणालीलाई पारदर्शी, व्यवस्थित र प्रभावकारी बनाउन सुधारको गृहकार्य अघि बढाउन निर्देशन दिएका छन्।
मन्त्रालयमा बिहीबार सूचना तथा प्रसारण विभाग र प्रेस काउन्सिल नेपालका अधिकारीसँग भएको छलफलमा मन्त्री तिमिल्सिनाले वास्तविक प्रकाशन तथा वितरण संख्या यकिन हुने गरी प्रणाली सुधार गर्न निर्देशन दिएका हुन्।
छलफलमा एउटै व्यक्ति वा संस्थाको स्वामित्वमा रहेका धेरै पत्रपत्रिकाले लोककल्याणकारी विज्ञापन लिने, वास्तविकभन्दा बढी पत्रिका छापेको विवरण पेस गर्ने तथा प्रेस काउन्सिलमा बुझाइएको विवरण र वास्तविक प्रकाशन संख्याबीच फरक हुनेजस्ता समस्या उठाइएको थियो।
त्यस्तै, पत्रपत्रिका वर्गीकरणका मापदण्ड स्पष्ट नभएको विषयमा पनि छलफल भएको थियो।
स्थलगत निरीक्षणमा पनि फरक विवरण
विभाग र काउन्सिलका अधिकारीहरूले केही पत्रपत्रिकाले काउन्सिलमा पेस गरेको विवरणभन्दा कम संख्यामा प्रकाशन गर्ने गरेको पाइएको जानकारी गराएका थिए।
नमुना छनोट गरी प्रेस तथा पत्रपत्रिका कार्यालयको स्थलगत निरीक्षण गर्दा समेत कतिपय सञ्चार संस्थाले पेस गरेको विवरण र वास्तविक प्रकाशन अवस्थाबीच फरक भेटिएको उनीहरूले बताएका छन्।
वर्गीकरण प्रणालीमा सुधारको आवश्यकता
हाल पत्रपत्रिका वर्गीकरणका क्रममा वास्तविक वितरण संख्या यकिन गर्न सञ्चार संस्थाको स्वघोषणा तथा लेखापरीक्षणबाट प्राप्त विवरणलाई आधार बनाउने गरिएको छ।
मन्त्री तिमिल्सिनाले भने वास्तविक प्रकाशन र वितरण संख्या प्रमाणित हुने गरी थप प्रभावकारी प्रणाली विकास गर्न निर्देशन दिएका छन्। साथै वर्गीकरणका आधार स्पष्ट बनाउन र लोककल्याणकारी विज्ञापन वितरणलाई पारदर्शी तथा विधिसम्मत बनाउन उनले जोड दिएका छन्।
सरकारी विज्ञापन वितरणमा हुने दोहोरोपन हटाउँदै सीमित सरकारी स्रोतको प्रभावकारी उपयोग गर्नुपर्ने उनको भनाइ थियो।
छलफलमा मन्त्रालयका सम्बन्धित महाशाखा प्रमुख, सूचना तथा प्रसारण विभागका निमित्त महानिर्देशक अनुप नेपाल तथा प्रेस काउन्सिल नेपालका मुख्य अधिकृत झबिन्द्र भुसाल र वरिष्ठ प्रशासकीय अधिकृत दीपक खनाललगायत अधिकारी सहभागी थिए।
Originally published on abcnews.com.np.


















प्रतिक्रिया दिनुहोस्