जनकपुरधाम । मधेश प्रदेशमा आत्महत्याको अवस्था अझै चिन्ताजनक देखिएको छ। मधेश प्रदेश प्रहरी कार्यालय, जनकपुरधामको तथ्याङ्कअनुसार आर्थिक वर्ष २०८०/८१ देखि २०८२/८३ को असार मसान्तसम्म प्रदेशका आठ जिल्लामा ३ हजार २७३ जनाले आत्महत्या गरेका छन्।
आत्महत्या गर्नेमा १ हजार २७५ पुरुष, १ हजार २३० महिला, ६०८ बालिका र १६० बालक छन्। पछिल्ला वर्षमा आत्महत्याका घटना केही घटेको देखिए पनि बालबालिकासहित आत्महत्या गर्नेको संख्या उच्च रहेकाले यो गम्भीर सामाजिक तथा जनस्वास्थ्य समस्याका रूपमा देखिएको छ।
तीन वर्षको तथ्याङ्क
आर्थिक वर्ष २०८०/८१ मा मधेशमा सबैभन्दा बढी १ हजार २७१ जनाले आत्महत्या गरेका थिए। त्यसमध्ये ५३७ पुरुष, ४६६ महिला, ६७ बालक र २०१ बालिका थिए।
आर्थिक वर्ष २०८१/८२ मा १ हजार २५० जनाले आत्महत्या गरेका थिए। यसमा ४६७ पुरुष, ४७३ महिला, ६५ बालक र २४५ बालिका रहेका थिए।
यस्तै, आर्थिक वर्ष २०८२/८३ मा आत्महत्या गर्नेको संख्या ७५२ रहेको छ। यस वर्ष २७१ पुरुष, २९१ महिला, २८ बालक र १६२ बालिकाले आत्महत्या गरेका छन्।
सर्लाहीमा सबैभन्दा बढी
तीन वर्षको अवधिमा जिल्लागत रूपमा सर्लाहीमा सबैभन्दा बढी ५१६ जनाले आत्महत्या गरेका छन्। सिरहामा ५०१, धनुषामा ४८३, रौतहटमा ४२६, बारामा ३८०, महोत्तरीमा ३४५, सप्तरीमा ३२३ र पर्सामा २९९ जनाले आत्महत्या गरेका छन्।
बालिकाको संख्या झन् चिन्ताजनक
तीन वर्षमा आत्महत्या गर्ने ७६८ बालबालिकामध्ये ६०८ बालिका र १६० बालक छन्। रौतहटमा मात्रै ११५ बालिकाले आत्महत्या गरेका छन्।
धनुषाको धनौजी गाउँपालिकाका मनोपरामर्शदाता शिवशंकर यादवका अनुसार पारिवारिक वातावरण, अध्ययनको दबाब, सामाजिक तथा मनोसामाजिक समस्या र सम्बन्धमा आउने तनावले बालबालिकाको मानसिक स्वास्थ्यमा असर पार्न सक्छ।
उनका अनुसार आर्थिक कठिनाइ, पारिवारिक तनाव, वैवाहिक तथा सामाजिक समस्या, घरेलु हिंसा, सामाजिक एक्लोपन र मानसिक स्वास्थ्यसम्बन्धी समस्या आत्महत्याको जोखिमसँग जोडिन सक्छन्।
“आत्महत्यालाई व्यक्तिको कमजोरीका रूपमा मात्र हेर्नु हुँदैन,” यादवले भने, “यसलाई सामाजिक तथा सार्वजनिक नीतिको विषयका रूपमा लिएर परिवारदेखि राज्यका सम्बन्धित निकायसम्मले समन्वय गरेर काम गर्नुपर्छ।”
८८ वटा जनचेतनामूलक कार्यक्रम
मधेश प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक प्रभुप्रसाद ढकालका अनुसार प्रहरीले आत्महत्या न्यूनीकरणका लागि विभिन्न जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्दै आएको छ।
गत आर्थिक वर्षमा प्रदेशका आठवटै जिल्लामा आत्महत्या न्यूनीकरणसम्बन्धी ८८ वटा जनचेतनामूलक कार्यक्रम सञ्चालन गरिएको उनले बताए।
तर प्रहरीको प्रयास मात्र पर्याप्त नहुने उनको भनाइ छ। आत्महत्या न्यूनीकरणका लागि परिवार, स्थानीय तह, नागरिक समाज, महिला समूह, न्यायिक समिति तथा अन्य सरोकारवाला निकायले समेत सक्रिय भूमिका निर्वाह गर्नुपर्ने उनले बताए।
तीन वर्षमा ३ हजारभन्दा बढीले आत्महत्या गरेको तथ्याङ्कले मधेशमा मानसिक स्वास्थ्य सेवा, मनोसामाजिक परामर्श, पारिवारिक सहयोग र समुदायस्तरीय कार्यक्रमलाई थप प्रभावकारी बनाउनुपर्ने आवश्यकता देखाएको छ।
Originally published on abcnews.com.np.


















प्रतिक्रिया दिनुहोस्