काठमाडौँ । लगातारको वर्षाका कारण देशका विभिन्न स्थानमा सडक अवरुद्ध भएका छन्। बाढी, पहिरो तथा सडक भासिनेजस्ता कारणले केही सडकखण्डमा सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ।
प्रहरी प्रधान कार्यालयले बिहीबार साँझदेखि शुक्रबार बिहान ६ बजेसम्मको विवरण सार्वजनिक गर्दै काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, रसुवा, रुकुम पश्चिम, लमजुङ, इलाम, नुवाकोट र मकवानपुरका विभिन्न सडक प्रभावित भएको जनाएको छ।
काभ्रेपलाञ्चोकको खुर्कोट–नेपालथोक–कटुन्जेबेँसी सडकमा सम्भावित बाढीको जोखिमलाई ध्यानमा राखेर साँझ ६ बजेदेखि बिहान ४ बजेसम्म सबै प्रकारका सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ। बिहान ४ बजेदेखि बेलुका ६ बजेसम्म भने सवारीसाधन सञ्चालन गर्न दिइएको प्रहरीले जनाएको छ।
मकवानपुरको कान्ति लोकपथमा पनि वर्षाका कारण बिहीबार राति ७ बजेदेखि शुक्रबार बिहान ५ बजेसम्म सबै प्रकारका सवारीसाधन सञ्चालन बन्द गरिएको थियो।
नुवाकोटको टोखा–छहरे सडकखण्डमा अत्यावश्यक सेवाका सवारीसाधनबाहेक अन्य सार्वजनिक तथा निजी सवारीसाधनको राति १० बजेदेखि बिहान ५ बजेसम्म आवागमन बन्द गरिएको छ। अर्को सूचना जारी नभएसम्म उक्त सडकमा कुनै पनि सवारीसाधन सञ्चालन गर्न नपाइने प्रहरीले जनाएको छ।
इलाम नगरपालिका–९ राजदुवालीमा हिलो जमेर मेची राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ। उक्त स्थानमा वैकल्पिक मार्ग भने उपलब्ध रहेको जनाइएको छ।
सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–२ कोदारीस्थित अरनिको राजमार्गमा पहिरो खसेपछि सडक पूर्ण रूपमा अवरुद्ध भएको छ। सोही गाउँपालिका–२ लिपिङमा सडक भासिएपछि राजमार्गको आवागमनसमेत प्रभावित भएको छ।
रसुवाको उत्तरगया गाउँपालिका–५ खाल्टेस्थित त्रिशूली–मैलुङ–स्याफ्रुबेंसी सडकखण्ड त्रिशूली नदीले कटान गरेपछि पूर्ण रूपमा अवरुद्ध भएको छ। गोसाइँकुण्ड गाउँपालिका–२ स्याउपार्किङमा बिहीबार दिउँसो पहिरो खसेपछि पासाङल्हामु सडक पनि पूर्ण रूपमा बन्द भएको प्रहरीले जनाएको छ।
रुकुम पश्चिमको आठबिसकोट नगरपालिका–६ रिजेगार्ड खोलास्थित भेरी करिडोरको जाजरकोट–डोल्पा सडकखण्ड पहिरोका कारण अवरुद्ध छ। लमजुङको बेँसीसहर–मनाङ सडकअन्तर्गत मर्स्याङ्दी गाउँपालिका–४ रामबजारमा पहिरो खसेपछि सडक पूर्ण रूपमा बन्द भएको छ।
प्रहरी प्रधान कार्यालयले सडक अवरुद्ध भएका स्थानमा पहिरो तथा बाढीको जोखिम कायमै रहेकाले यात्रा गर्दा सावधानी अपनाउन आग्रह गरेको छ। आवश्यकताअनुसार वैकल्पिक मार्ग प्रयोग गर्न र सम्बन्धित निकायबाट जारी हुने सूचनाको पालना गर्नसमेत प्रहरीले अनुरोध गरेको छ।
Originally published on abcnews.com.np.


















प्रतिक्रिया दिनुहोस्