काठमाडौं । धवलशम्सेर राणा नेतृत्वको जय नेपाल पार्टीले संवैधानिक राजसंस्था र हिन्दु अधिराज्य पुनःस्थापनाका लागि देशव्यापी हस्ताक्षर अभियान सञ्चालन गर्ने निर्णय गरेको छ।
बिहीबार काठमाडौंमा बसेको पार्टीको प्रथम केन्द्रीय कार्यसमितिको बैठकले संविधान संशोधन प्रक्रियासँगै जनमत निर्माण गर्दै सरकारलाई दबाब दिने उद्देश्यले हस्ताक्षर अभियान सञ्चालन गर्ने निर्णय गरेको हो।
पार्टीले गौहत्या तथा गाईको मासुको खपत रोक्न सरकार र सम्बन्धित निकायलाई दबाब दिने निर्णयसमेत गरेको छ। यसका लागि भदौ महिनामा विभिन्न दबाबमूलक कार्यक्रम सञ्चालन गरिने जनाइएको छ।
जय नेपाल पार्टीका अध्यक्ष राणाले विचार मिल्ने राजनीतिक दल, संगठन, समूह, अभियान तथा व्यक्तिहरूलाई एकजुट गराउन वार्ता समिति गठन गरिने जानकारी दिए।
७७ जिल्लामा तदर्थ समिति गठन
आगामी स्थानीय तहको निर्वाचनलाई लक्षित गर्दै पार्टीले ७७ वटै जिल्लामा तदर्थ कार्यसमिति गठन गर्ने भएको छ।
अध्यक्ष राणाका अनुसार भदौ र असोज महिनाभित्र केन्द्रीय सदस्यसहित विभिन्न टोली परिचालन गरी जिल्ला तदर्थ समितिहरू गठन गरिनेछ।
पार्टीले स्थानीय तह निर्वाचनमा उम्मेदवार बन्न इच्छुक योग्य तथा लोकप्रिय नागरिकलाई सार्वजनिक रूपमा आवेदन दिन आह्वान गर्ने निर्णयसमेत गरेको छ। संगठन विस्तारसँगै योग्य उम्मेदवार छनोटको प्रक्रिया अघि बढाइने पार्टीले जनाएको छ।
संविधान संशोधनमा दबाब दिने तयारी
जय नेपाल पार्टीले संवैधानिक राजसंस्था र हिन्दु अधिराज्य पुनःस्थापनाका पक्षमा जनमत निर्माण गर्ने लक्ष्य लिएको छ।
सरकारले संविधान संशोधनका लागि रायसुझाव संकलन गरिरहेको समयमा पार्टीले हस्ताक्षर अभियान तथा अन्य कार्यक्रममार्फत आफ्नो एजेन्डाका पक्षमा जनमत सिर्जना गर्दै सरकारमाथि दबाब बढाउने तयारी गरेको हो।
Originally published on abcnews.com.np.

















प्रतिक्रिया दिनुहोस्