सोलुखुम्बु, भदौ ५ गते । विश्वको सर्वोच्च शिखर सगरमाथासहित नेपालका हिमशृङ्खलाले विदेशी मुद्रा आर्जनसँगै रोजगारी सिर्जना र स्थानीय अर्थतन्त्र विस्तारमा महत्वपूर्ण योगदान पुर्याउँदै आएका छन् । पछिल्ला वर्षमा पर्वतारोहण तथा पदयात्राका लागि नेपाल आउने विदेशी पर्यटकको सङ्ख्या बढेसँगै पर्वतीय पर्यटनको आर्थिक सम्भावना पनि विस्तार हुँदै गएको छ ।
सगरमाथाको प्रवेशद्वार सोलुखुम्बुमा पर्वतीय पर्यटनको प्रभाव प्रत्यक्ष देख्न सकिन्छ । हिमाल आरोहण र पदयात्राका लागि आउने पर्यटकसँग गाइड, उच्च हिमाली कामदार, भरिया, कुक, होटल व्यवसायी, यातायात व्यवसायी तथा पर्यटन सामग्री विक्रेताको आम्दानी जोडिएको छ । हिमालमा सुरु हुने यस्तो आर्थिक गतिविधि गाउँ हुँदै राष्ट्रिय अर्थतन्त्रसम्म पुग्ने गरेको छ ।
महामारीपछि पर्वतीय पर्यटनमा तीव्र सुधार
कोरोना महामारीका कारण प्रभावित नेपालको पर्वतीय पर्यटन पछिल्ला वर्षमा पुनः लयमा फर्किएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको तथ्याङ्कअनुसार सन् २०२१ को तुलनामा सन् २०२५ सम्म आइपुग्दा ट्रेकिङ तथा पर्वतारोहणका लागि नेपाल आउने विदेशी पर्यटकको सङ्ख्या ४७७.१ प्रतिशतले बढेको छ ।
सन् २०२१ मा लकडाउन तथा यात्रा प्रतिबन्धका कारण २८ हजार ६०० जना मात्रै पर्वतीय पर्यटनमा सहभागी भएका थिए । सन् २०२२ मा अन्तर्राष्ट्रिय सीमा खुलेपछि यो सङ्ख्या ११५.६ प्रतिशतले बढेर ६१ हजार ६६९ पुगेको थियो ।
त्यसपछि सन् २०२३ मा एक लाख १ हजार ७९२, सन् २०२४ मा एक लाख ५४ हजार ९०० र सन् २०२५ मा एक लाख ६५ हजार ५६ जना पर्यटकले ट्रेकिङ तथा पर्वतारोहण गरेका छन् । सन् २०२५ को सङ्ख्या अघिल्लो वर्षको तुलनामा ६.५ प्रतिशत बढी हो ।
कुल पर्यटक आगमनमा पनि बढ्यो हिस्सा
पर्वतीय पर्यटनको पुनरुत्थानले नेपालको समग्र पर्यटक आगमनमा समेत सकारात्मक प्रभाव पारेको छ । सन् २०२१ पछि कुल विदेशी पर्यटकमध्ये पर्वतीय गतिविधिमा सहभागी हुनेको हिस्सा १० प्रतिशतसम्म झरेकोमा सन् २०२५ मा बढेर १४.२ प्रतिशत पुगेको छ ।
सन् २०२५ मा नेपालमा कुल ११ लाख ६२ हजार ३६५ विदेशी पर्यटक आएका थिए । तीमध्ये एक लाख ६५ हजार ५६ जना ट्रेकिङ तथा पर्वतारोहणमा सहभागी भएका थिए । अर्थात् नेपाल आउने करिब सात पर्यटकमध्ये एक जना पर्वतीय पर्यटनसँग प्रत्यक्ष जोडिएको देखिन्छ ।
पर्वतीय पर्यटकले आवास, खानपान, यातायात, गाइड, आरोहण सामग्री, बिमा, अनुमति तथा उद्धारलगायतका क्षेत्रमा खर्च गर्ने भएकाले यसको आर्थिक प्रभाव रोयल्टीमा मात्र सीमित हुँदैन ।
रोयल्टीसँगै स्थानीय अर्थतन्त्रमा प्रभाव
पर्वतारोहणबाट सरकारले प्रत्यक्ष रूपमा रोयल्टी प्राप्त गर्दै आएको छ । सगरमाथा, ल्होत्से, मनास्लु, मकालु, धौलागिरि र कञ्चनजङ्घालगायतका हिमालबाट रोयल्टी सङ्कलन हुँदै आएको छ ।
नेपाल पर्वतारोहण सङ्घमार्फत अनुमति जारी हुने २७ वटा हिमालमा सन् २०२५ मा सात हजार ५४ जनाले आरोहण अनुमति लिएका थिए । तीमध्ये ६ हजार ९०३ विदेशी र १५१ नेपाली आरोही थिए । यसबाट १४ लाख २५ हजार ७२० अमेरिकी डलर अर्थात् करिब २० करोड रुपैयाँ रोयल्टी सङ्कलन भएको छ ।
नेपाल पर्वतारोहण सङ्घका पूर्वअध्यक्ष आङछिरिङ शेर्पाका अनुसार पर्वतारोहणको आर्थिक योगदानलाई रोयल्टीमा मात्र सीमित गरेर हेर्न मिल्दैन । आरोहीले नेपालमा गर्ने अन्य खर्चसमेत जोड्दा यसको वास्तविक आर्थिक प्रभाव निकै ठूलो हुने उनको भनाइ छ ।
सोलुखुम्बुमा नयाँ अवसर
पर्वतीय पर्यटनले स्थानीय अर्थतन्त्रमा पार्ने प्रभावको महत्वपूर्ण उदाहरण सोलुखुम्बु हो । सगरमाथा आरोहण तथा पदयात्राका लागि आउने पर्यटकका कारण खुम्बु क्षेत्रमा होटल, लज, यातायात, गाइड, भरिया तथा अन्य पर्यटन व्यवसायको ठूलो सञ्जाल विकास भएको छ ।
लुक्लाबाट सुरु हुने पर्यटन गतिविधि फाक्दिङ, नाम्चे, थामे, तेङ्बोचे, दिङ्बोचे, लोबुचे हुँदै सगरमाथा आधार शिविरसम्म फैलिएको छ । मेरा पिक, आइल्यान्ड पिक र लोबुजे इस्टजस्ता हिमालले पनि पछिल्लो समय आरोही आकर्षित गरिरहेका छन् ।
मन्त्रालयको तथ्याङ्कअनुसार सोलुखुम्बु क्षेत्रका मेरा पिकमा दुई हजार ६३३, आइल्यान्ड पिकमा दुई हजार ७८ र लोबुजेमा एक हजार ७७५ जनाले आरोहण अनुमति लिएका थिए ।
नेपालमा पर्वतीय पर्यटनलाई थप विस्तार गर्न कम चर्चित हिमाल तथा नयाँ गन्तव्यको पहिचान, पूर्वाधार विकास र अन्तर्राष्ट्रियस्तरमा प्रवर्द्धन आवश्यक देखिन्छ । नयाँ गन्तव्यलाई बजारमा स्थापित गर्न सके पर्यटन गतिविधि नयाँ क्षेत्रमा विस्तार हुनुका साथै रोजगारी, स्थानीय उत्पादनको बजार र समुदायको आम्दानीसमेत बढाउन सकिने सम्भावना छ।
Originally published on abcnews.com.np.

















प्रतिक्रिया दिनुहोस्