काठमाडौं । नागरिक लगानी कोषको कार्यकारी निर्देशकमा पर्वत कुमार कार्की पुनः नियुक्त भएका छन्। उदयपुरका स्थायी बासिन्दा कार्कीलाई सरकारले नागरिक लगानी कोष ऐन, २०४७ को दफा ४२ को उपदफा १ बमोजिम कार्यकारी निर्देशक पदमा नियुक्त गरेको हो।
नेपाल राष्ट्र बैंकका पूर्वकार्यकारी निर्देशक कार्की यसअघि पनि नागरिक लगानी कोषको कार्यकारी निर्देशकका रूपमा कार्यरत थिए। उनी २०८० माघ ३ गते खुला प्रतिस्पर्धाबाट पहिलोपटक कोषको कार्यकारी निर्देशक पदमा नियुक्त भएका थिए।
कार्कीले नेपाल ग्रामीण विकास बैंक र किसान लघुवित्त वित्तीय संस्था लिमिटेडमा प्रमुख कार्यकारी अधिकृत (सीईओ) का रूपमा समेत काम गरेका छन्। बैंकिङ तथा वित्तीय क्षेत्रमा लामो अनुभव रहेका कार्कीले केन्द्रीय बैंकिङ, वित्तीय स्थायित्व र वित्तीय बजार विश्लेषणलगायतका क्षेत्रमा काम गरेका छन्।
शिक्षा तथा तालिम
कार्कीले अष्ट्रेलियाको ग्रिफिथ विश्वविद्यालयबाट मास्टर अफ बैंकिङ एन्ड फाइनान्स (एमबीएफ) तथा त्रिभुवन विश्वविद्यालयबाट व्यवस्थापन विषयमा स्नातकोत्तर गरेका छन्।
उनले केन्द्रीय बैंकिङ, वित्तीय स्थायित्व र वित्तीय बजार विश्लेषणलगायतका विषयमा विभिन्न अन्तर्राष्ट्रिय तालिमसमेत लिएका छन्।
Originally published on abcnews.com.np.







प्रतिक्रिया दिनुहोस्