लेखनाथ : कास्कीको पोखरा महानगरपालिका–९ स्थित शान्ति वननजिकै सेती नदीको खोँचमा खसेका एक युवकलाई प्रहरीले सकुशल उद्धार गरेको छ।
शुक्रबार बिहान करिब ३० मिटर तल भिरबाट खसेर अड्किएका २८ वर्षीय अनिल परियारको उद्धार गरिएको हो। रुपन्देहीको बुटवल उपमहानगरपालिका–९ स्थायी घर भएका परियार हाल पोखराको पृथ्वीचोकमा बस्दै आएका थिए।
घटनाबारे जानकारी पाएलगत्तै खटिएको प्रहरी टोलीले उनलाई उद्धार गरी उपचारका लागि पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पुर्याएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता प्रहरी नायब उपरीक्षक वीरेन्द्रकुमार पासवानले जानकारी दिए।
प्रारम्भिक उपचारपछि परियार बोल्न सक्ने अवस्थामा रहेको प्रहरीले जनाएको छ।
पोखरा महानगर क्षेत्रभित्र सेती नदी कतिपय स्थानमा भूमिगत रूपमा बग्ने भएकाले नदी किनार तथा खोँच आसपासका भिर र धर्तीफाटोमा दुर्घटनाको जोखिम रहने गरेको छ। यस क्षेत्रमा यसअघि पनि मानिस खस्ने तथा अन्य दुर्घटनाका घटना हुने गरेका छन्।
Originally published on abcnews.com.np.







प्रतिक्रिया दिनुहोस्