बागलुङ । बागलुङका ग्रामीण बस्तीमा सडक विस्तारसँगै पहिरोको जोखिम बढ्दै गएको छ। वर्षौंदेखि सडकको पहुँचको प्रतीक्षामा रहेका स्थानीय अहिले सडक निर्माणपछि नै घरबार छाड्नुपर्ने अवस्थामा पुगेका छन्। निसीखोला, बडिगाड र गलकोट क्षेत्रमा पछिल्ला दिनमा खसेका पहिरोले दर्जनौं घर जोखिममा परेका छन्।
गत साउन २८ गते झिसमिसेमा निसीखोला गाउँपालिका–२ देविस्थानस्थित धाराटोलमा पहिरो खस्दा १० घरमा क्षति पुगेको थियो। घरका संरचना चर्किएपछि कतिपय परिवार विस्थापित भएका छन् भने गोठसमेत भत्किँदा पशुचौपायालाई खुला चौरमा बाँध्नुपर्ने अवस्था आएको छ।
जिल्ला विपद् व्यवस्थापन समितिको स्थलगत निरीक्षणपछि धाराटोलका १७ घर उच्च जोखिममा रहेको र अन्यसहित ४४ घर पहिरोको जोखिममा परेको निष्कर्ष निकालिएको छ।
पहिरो खस्ने क्रम नरोकिएपछि प्रभावित परिवार छिमेकीको घर, बसाइँसराइका कारण खाली रहेका जीर्ण भवन तथा स्थानीय तहले उपलब्ध गराएको त्रिपालमा आश्रय लिन बाध्य छन्।
सडक निर्माणपछि सुरु भयो विपत्ति
स्थानीयका अनुसार उपल्लो बेङ्ग्री–हाडिचार–बास्खोला गाउँ जोड्ने सडक निर्माणका क्रममा हाडिचार क्षेत्रमा खसेको पहिरोले धाराटोल बस्ती संकटमा परेको हो। भर्खरै ट्र्याक खोलिएको सडक आसपासबाट पहिरो खस्न थालेपछि स्थानीयमा सडक विकासभन्दा विपत्तिको कारण बनेको गुनासो बढेको छ।
छिपछिपेकी पार्वती घर्तीमगर भन्छिन्, “यो ठाउँमा यसअघि पहिरो खसेको थाहा थिएन। बिनायोजना जथाभावी बाटो खन्दा उठिबास लाग्ने भयो।”
पहिरो खस्न थालेपछि ज्यान जोगाउन सफल भए पनि उनको घर र गोठमा ठूलो क्षति पुगेको छ। सडक गाउँसम्म पुग्दा उत्साहित भएका स्थानीय अहिले वर्षासँगै पहिरोको त्रासमा बाँचिरहेका छन्।
१७ घर उच्च जोखिममा, तत्काल रोकथामको प्रयास
जिल्ला विपद् व्यवस्थापन समितिको निरीक्षणपछि स्थानीय तह र वडा कार्यालयले तत्कालका लागि पहिरो नियन्त्रण तथा जोखिम न्यूनीकरणको काम सुरु गरेका छन्।
वडा अध्यक्ष कुविर विश्वकर्माका अनुसार प्रभावित परिवारका लागि स्थानीय रत्नराज्य माध्यमिक विद्यालयलाई अस्थायी आश्रयस्थल तोकिएको छ। प्रहरी, नेपाली सेना र प्राविधिकको सहयोगमा पहिरो पन्छाउने तथा प्रभावितको बसोबास व्यवस्थापन गर्ने काम भइरहेको उनले बताए।
तर स्थानीयको मुख्य चिन्ता तत्कालको राहतभन्दा दीर्घकालीन सुरक्षाको हो। पहिरोको मूल कारण र भू–संरचनाको वैज्ञानिक अध्ययन नगरी केवल पहिरो पन्छाएर समस्या समाधान नहुने उनीहरूको भनाइ छ।
बडिगाड र गलकोटमा पनि उस्तै समस्या
सडक निर्माण र वर्षासँगै आएको पहिरोको समस्या जिल्लाका अन्य स्थानमा पनि देखिएको छ।
गत साउन ३० गते बडिगाड गाउँपालिका–९ दर्लिङखोलास्थित बलघाँस र खहरे क्षेत्रमा पहिरो खस्दा आठ घर उच्च जोखिममा परेका छन्। स्थानीयका अनुसार बस्ती जोड्न निर्माण गरिएका सडकबाट पहिरो खसेपछि घरहरू जोखिममा परेका हुन्।
यस्तै, गत साउन ५ गते हरिचौर–मल्म–पाण्डवखानी–बोंगादोभान मोटरबाटोअन्तर्गत मल्मको काउलेखोलामा पहिरो खस्दा गलकोट नगरपालिका–७ मल्मस्थित गैराखर्क बस्तीसमेत जोखिममा परेको छ।
तत्कालका लागि काउलेखोलाको पहिरो पन्छाइएको भए पनि वर्षा जारी रहेकाले जोखिम पूर्ण रूपमा हटेको छैन। वडा अध्यक्ष राज थापाका अनुसार वर्षा रोकिएपछि पहिरो नियन्त्रणका लागि दीर्घकालीन उपाय खोजिनेछ।
‘सडक चाहिन्छ, तर बस्ती बगाएर होइन’
स्थानीय जनप्रतिनिधि र प्रभावितहरू दुवैले वातावरणीय तथा भौगोलिक अध्ययनबिना निर्माण गरिने ग्रामीण सडकले विपत्ति निम्त्याउन सक्ने बताएका छन्।
वडा अध्यक्ष थापाका अनुसार विस्तृत परियोजना प्रतिवेदन, वातावरणीय प्रभाव मूल्याङ्कन तथा भूगर्भीय अध्ययन गरेर मात्र सडक निर्माण गरिनुपर्ने आवश्यकता बढ्दो छ।
“वातावरणीय प्रभाव मूल्याङ्कनबिना निर्माण गरिने सडकले विपद् निम्त्याउँछ,” उनले भने, “दिगो सडकका लागि योजनाबद्ध रूपमा काम गर्न सके प्राकृतिक विपत्तिको जोखिम कम गर्न सकिन्छ।”
बागलुङका यी घटनाले ग्रामीण सडक निर्माणको पुरानो बहसलाई फेरि सतहमा ल्याएको छ—सडक विकासको आधार हो, तर त्यसको निर्माण वैज्ञानिक र योजनाबद्ध नभए त्यही सडक गाउँबस्तीका लागि विनाशको बाटो बन्न सक्छ।
अहिले धाराटोललगायत प्रभावित बस्तीका स्थानीयलाई तत्काल सुरक्षित बसोबास, पशुचौपायाको व्यवस्थापन र पहिरो नियन्त्रण आवश्यक छ। तर दीर्घकालमा सडक निर्माणअघि विस्तृत परियोजना प्रतिवेदन, वातावरणीय प्रभाव मूल्याङ्कन, उचित ढल निकास, भू–संरक्षण र प्राविधिक मापदण्डको कडाइका साथ पालना नगरे बागलुङका अन्य ग्रामीण बस्तीमा पनि यस्तै विपत्ति दोहोरिन सक्ने जोखिम छ।
Originally published on abcnews.com.np.







प्रतिक्रिया दिनुहोस्