काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शशांक कोइरालाले गगन थापा नेतृत्वको केन्द्रीय कार्यसमितिले १५औँ महाधिवेशनका लागि अघि बढाइरहेका अधिवेशन तथा महाधिवेशनका गतिविधिमा सहभागी नहुन पार्टीका नेता, कार्यकर्ता र क्रियाशील सदस्यलाई अपिल गरेका छन्।
शुक्रबार संस्थापनइतर पक्षका शीर्ष नेताहरूबीच भएको छलफलपछि डा. कोइरालाले प्रेस विज्ञप्ति जारी गर्दै कांग्रेसको आधिकारिकतासम्बन्धी विवाद सर्वोच्च अदालतमा विचाराधीन रहेकाले एकतर्फी रूपमा महाधिवेशन प्रक्रिया अघि बढाउन नहुने बताएका हुन्।
शुक्रबार अपराह्न डा. कोइरालाको निवासमा संस्थापनइतर पक्षका शीर्ष नेताहरूबीच पार्टीको पछिल्लो विवाद, विशेष महाधिवेशन र १५औँ महाधिवेशनको तयारीबारे छलफल भएको थियो। सोही छलफलपछि जारी विज्ञप्तिमा उनले पार्टीभित्रको विवाद समाधान नगरी अघि बढाइने महाधिवेशन प्रक्रियाले कांग्रेसलाई थप विभाजनतर्फ धकेल्ने चेतावनी दिएका छन्।
सर्वोच्चमा विचाराधीन छ आधिकारिकताको विवाद
डा. कोइरालाले विज्ञप्तिमा नेपाली कांग्रेसको आधिकारिकतासम्बन्धी विवाद अझै कानुनी रूपमा टुंगो नलागेको उल्लेख गरेका छन्। सर्वोच्च अदालतले उक्त विषयमा पुनः सुनुवाइ वा पुनरवलोकनका लागि अनुमति दिइसकेको स्मरण गराउँदै उनले यस्तो अवस्थामा महाधिवेशन प्रक्रिया अघि बढाउनु उचित नहुने बताएका छन्।
उनले भनेका छन्, “यो अवस्थामा कथित विशेष महाधिवेशनबाट गठित पक्षले १५औँ महाधिवेशन गर्ने निर्णय गरी कार्यतालिका सार्वजनिक गरेको सन्दर्भमा हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ।”
विशेष महाधिवेशनपछि पार्टीको केन्द्रीय कार्यसमिति समानान्तर रूपमा विभाजित अवस्थामा पुगेको उनको दाबी छ। यस्तो विवाद कायम रहँदै महाधिवेशनमा जान खोजिए पार्टीको आन्तरिक संकट अझ गहिरिने उनको निष्कर्ष छ।
महाधिवेशनले पार्टी संरचना नै विभाजन गर्न सक्ने चेतावनी
डा. कोइरालाले अहिलेको विवाद समाधान नगरी वडा, क्षेत्र, जिल्ला हुँदै केन्द्रीय तहसम्म अधिवेशन अघि बढाइए कांग्रेसका सबै तहका संगठनहरू विभाजनको चपेटामा पर्न सक्ने बताएका छन्।
उनले विज्ञप्तिमा भनेका छन्, “गम्भीर विवादको अवस्थामा कथित विशेष महाधिवेशन पक्षले अधिवेशन वा महाधिवेशन गर्यो भने पार्टीका सबै तहका संरचनागत रूपमा विभाजनको प्रक्रिया सुरु हुने स्पष्ट देखिन्छ।”
उनका अनुसार पार्टीभित्रको विवादलाई थप चर्काएर महाधिवेशनमा जाँदा आगामी स्थानीय तह तथा प्रदेशसभा सदस्य निर्वाचनमा समेत कांग्रेसलाई नकारात्मक असर पर्न सक्छ।
अधिवेशनमा सहभागी नहुन सबैलाई आग्रह
डा. कोइरालाले पार्टीभित्रको विवाद समाधानका लागि संवाद र सहमतिको बाटो अपनाउनुपर्नेमा जोड दिएका छन्। विवाद कायम रहेको अवस्थामा एक पक्षले मात्र अघि बढाएको अधिवेशन तथा महाधिवेशन प्रक्रियालाई उनले अवैधानिक र विभाजनकारी गतिविधिको संज्ञा दिएका छन्।
त्यसैले उनले पार्टीका सबै तहका समिति, पदाधिकारी, सदस्य तथा क्रियाशील सदस्यलाई त्यस्ता गतिविधिमा सहभागी नहुन अपिल गरेका छन्।
विज्ञप्तिमा भनिएको छ, “तथाकथित विशेष महाधिवेशन पक्षका यस्ता अवैधानिक र विभाजनकारी अधिवेशन र महाधिवेशन आयोजना नगर्न/नगराउन तथा यस्ता क्रियाकलापमा सहभागी नहुन पार्टीका सबै तहका समिति, पदाधिकारी र सदस्यहरू तथा क्रियाशील सदस्यहरूमा हार्दिक अपिल गर्दछौँ।”
कांग्रेसभित्र १५औँ महाधिवेशनको कार्यतालिका, विशेष महाधिवेशनको वैधानिकता र पार्टीको आधिकारिकतासम्बन्धी विवाद चर्किरहेका बेला डा. शशांक कोइरालाको यो अपिलले पार्टीभित्रको शक्ति संघर्षलाई थप तीव्र बनाउने देखिएको छ।
Originally published on abcnews.com.np.


















प्रतिक्रिया दिनुहोस्