बागलुङ । श्रम संस्कृति पार्टीका महासचिव आरेन राईले देश निर्माणको उद्देश्यसहित अघि बढेको राजनीतिक शक्ति श्रम संस्कृति पार्टी मात्रै भएको दाबी गरेका छन्।
बागलुङको बडिगाड गाउँपालिका–२ डुडेवाचौरमा जिल्ला तदर्थ समिति गठन गर्न शुक्रबार आयोजित कार्यक्रममा बोल्दै राईले देशको विद्यमान अवस्था परिवर्तनका लागि ‘हर्कवाद’ नै अन्तिम विकल्प भएको जिकिर गरे।
‘देश निर्माण गर्न नागरिकहरू एकताबद्ध भएमात्र सम्भव छ। हर्क साम्पाङले अघि सारेको अभियानलाई साथ दिनुहोस्,’ उनले भने।
राईले आफ्नो पार्टी भ्रष्टाचार, सहकारी ठगी तथा राष्ट्रहितविपरीतका गतिविधिमा संलग्न नभएको दाबी गरे। किसान, मजदुर, निमुखा तथा देशलाई समृद्ध बनाउन चाहने नागरिकको साझा पार्टी श्रम संस्कृति भएको उनको भनाइ छ।
२५ सदस्यीय जिल्ला तदर्थ समिति गठन
शुक्रबार आयोजित कार्यक्रममा श्रम संस्कृति पार्टीले बडिगाड–२ डुडेवाचौरमा लालबहादुर घर्ती मगरको संयोजकत्वमा २५ सदस्यीय जिल्ला तदर्थ समिति गठन गरेको छ।
समितिको उपसंयोजकमा मुकेश रोका मगर, सचिवमा अमृत पुन मगर, सहसचिवमा माया गुरुङ र मानबहादुर छन्त्याल तथा कोषाध्यक्षमा कृष्ण पुन चयन भएका छन्।
समितिमा अन्य सदस्यहरूलाई समेत समेटिएको छ। नवगठित समितिले बागलुङमा पार्टीको संगठन विस्तार तथा आगामी राजनीतिक गतिविधिलाई अघि बढाउने बताइएको छ।
Originally published on abcnews.com.np.


















प्रतिक्रिया दिनुहोस्