काठमाडौं । काठमाडौं उपत्यकासहितका स्थानीय तहको फोहोर व्यवस्थापनसम्बन्धी छलफलका क्रममा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद आशिका तामाङ र स्थानीय तहका प्रमुख तथा प्रतिनिधिबीच चर्काचर्की भएको छ।
शुक्रबार सिंहदरबारमा सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले बञ्चरेडाँडामा फोहोर व्यवस्थापनसँग सम्बन्धित काठमाडौं उपत्यकाका स्थानीय तहका प्रमुख तथा प्रतिनिधिहरूसँग छलफल आयोजना गरेका थिए। छलफलका क्रममा सांसद तामाङको अभिव्यक्तिलाई लिएर स्थानीय तहका प्रमुखहरूसँग विवाद भएको हो।
प्रभावित स्थानीय तहको उपस्थितिमाथि प्रश्न
बैठकमा सांसद तामाङले फोहोर व्यवस्थापनबाट प्रत्यक्ष प्रभावित स्थानीय तहका प्रमुखहरू उपस्थित नभएको भन्दै प्रश्न उठाएकी थिइन्। उपस्थित प्रतिनिधिहरूलाई समेत छलफलभन्दा घर जान हतार भएको जस्तो देखिएको टिप्पणी गरेपछि बैठकको वातावरण तनावपूर्ण बनेको बताइएको छ।
उनको अभिव्यक्तिप्रति स्थानीय तहका प्रतिनिधिहरूले आपत्ति जनाएका थिए।
ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनले सांसद तामाङको प्रस्तुति र शैली आक्रामक भएको टिप्पणी गर्दै फोहोर व्यवस्थापनको विषयमा विगतको इतिहास र जटिलता बुझ्न आग्रह गरे।
“तपाईंको कुरा धेरै आक्रामक छ, यसरी हुँदैन। फोहोरमैला व्यवस्थापनको इतिहास पनि अध्ययन गर्नुपर्छ,” महर्जनले भने।
टेबल ठोकेर बाहिरिइन् सांसद तामाङ
महर्जनको अभिव्यक्तिपछि सांसद तामाङले छलफल सिंहदरबारको बैठक कक्षमा मात्र सीमित नभई प्रत्यक्ष रूपमा बञ्चरेडाँडामा पुगेर गर्नुपर्ने धारणा राखिन्।
‘छलफल यहाँ होइन, बञ्चरेडाँडामा हुन्छ,’ भन्दै उनले टेबल ठोकेको बताइएको छ। त्यसपछि स्थानीय तहका प्रमुख तथा प्रतिनिधिहरूसँगको विवाद थप चर्किएपछि सांसद तामाङ बैठक कक्षबाट बाहिरिएकी थिइन्।
सांसद तामाङ बाहिरिएपछि स्थानीय तहका प्रमुख तथा प्रतिनिधिहरूले बैठकको संयोजन र छलफल सञ्चालन प्रभावकारी हुन नसकेको गुनासो गरेका थिए।
फोहोर व्यवस्थापनको समस्या समाधानका लागि छलफल
मन्त्री तिमिल्सिनाले काठमाडौं उपत्यकाको दीर्घकालीन फोहोर व्यवस्थापनका विषयमा स्थानीय तहसँग समन्वय र समाधान खोज्ने उद्देश्यले छलफल आयोजना गरिएको बताएका थिए।
बञ्चरेडाँडामा भइरहेको फोहोर व्यवस्थापनप्रति प्रभावित स्थानीयवासीको असन्तुष्टि र विभिन्न माग उठिरहेका बेला सरकार, स्थानीय तह र सरोकारवालाबीच समाधान खोज्ने उद्देश्यले बैठक बोलाइएको थियो।
तर, बैठकमै सांसद र स्थानीय तहका प्रमुखबीच विवाद भएपछि निर्धारित विषयमा अपेक्षित रूपमा थप छलफल अघि बढ्न नसकेको बताइएको छ।
Originally published on abcnews.com.np.


















प्रतिक्रिया दिनुहोस्