काठमाडौँ । नेपाली कांग्रेसको केन्द्रीय अनुशासन समितिले पार्टीको मर्यादा, विधान र नेतृत्वको गरिमामाथि आँच पुर्याउने जोसुकै व्यक्ति वा समूहलाई कारबाहीको दायरामा ल्याइने चेतावनी दिएको छ।
शुक्रबार सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा बसेको अनुशासन समितिको बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै समितिका संयोजक तारामान गुरुङले पार्टीभित्र अनुशासन उल्लंघन गर्ने तथा नेतृत्व र संस्थाको प्रतिष्ठामा असर पुर्याउने गतिविधिमाथि छानबिन गरी विधानअनुसार कारबाही गरिने बताए।
‘पार्टी र नेतृत्वको गरिमामा आँच पुर्याउने जो कोहीको पनि छानबिन हुन्छ,’ उनले भने।
७५४ उजुरीमाथि छानबिन
गुरुङका अनुसार गत आम निर्वाचनका क्रममा पार्टीभित्र भएका अनुशासन उल्लंघन, अन्तर्घात तथा अन्य गतिविधिसम्बन्धी विभिन्न जिल्लाबाट ७५४ वटा उजुरी अनुशासन समितिमा परेका छन्।
ती उजुरीमाथि समितिले छानबिन गरिरहेको र अधिकांश उजुरी टुंग्याउने प्रक्रियामा रहेको उनले जानकारी दिए। कांग्रेसको १५औँ महाधिवेशनको प्रक्रिया अघि बढिरहेका बेला पार्टीभित्र देखिएका अनुशासनसम्बन्धी विवादलाई वडा अधिवेशनअघि नै निष्कर्षमा पुर्याउने समितिको तयारी छ।
‘वडा अधिवेशन सुरु हुनुअघि नै अनुशासनका विषय टुंगो लगाएर पार्टीलाई शुद्धीकरण गर्ने पक्षमा हामी छौँ,’ गुरुङले भने, ‘हाम्रो निर्णय आम कार्यकर्ता र जनताले समेत न्यायोचित ठान्ने खालको हुनेछ।’
संस्थापनइतर पक्षको गतिविधिमाथि पनि समितिको नजर
बैठकमा कांग्रेसको संस्थापनइतर पक्षले पछिल्लो समय सञ्चालन गरेका गतिविधिबारे पनि गम्भीर छलफल भएको जनाइएको छ। विशेषगरी डा. शशांक कोइरालाको संयोजकत्वमा भएको भेलामा पूर्वसभापति शेरबहादुर देउवालाई ‘सभापति’ उल्लेख गरिएको नेमप्लेट राखेर गरिएको स्वागतप्रति समितिले ध्यानाकर्षण भएको जनाएको छ।
गगन थापा नेतृत्वको केन्द्रीय कार्यसमिति आधिकारिक रहेको अवस्थामा पार्टीको नाम, लेटरप्याड र नेतृत्वसँग सम्बन्धित प्रतीक तथा पहिचानको अनधिकृत प्रयोग स्वीकार्य नहुने संयोजक गुरुङको भनाइ छ।
उनले पूर्वसभापति देउवालाई वर्तमान सभापतिको हैसियतमा प्रस्तुत गरिएको, नक्कली वा अनधिकृत लेटरप्याड प्रयोग गरिएको तथा पार्टीको मर्यादाविपरीत शब्द र अभिव्यक्ति प्रयोग भएका घटनाबारे अभिलेख संकलन भइरहेको बताए।
‘निवर्तमान सभापतिलाई वर्तमान सभापतिकै हैसियतमा नेमप्लेट राखेर प्रस्तुत गर्नु र अनधिकृत लेटरप्याड प्रयोग गर्नु विधानसम्मत हुँदैन,’ गुरुङले भने, ‘त्यस्ता भेलामा भएका गतिविधि, नेताहरूले प्रयोग गरेका शब्द र उपस्थितिसम्बन्धी विवरणको अभिलेख संकलन भइरहेको छ।’
अनुशासन समितिको पछिल्लो चेतावनीसँगै १५औँ महाधिवेशनलाई लिएर कांग्रेसभित्र चर्किँदै गएको आन्तरिक विवाद थप गम्भीर मोडतर्फ जाने संकेत देखिएको छ।
Originally published on abcnews.com.np.


















प्रतिक्रिया दिनुहोस्