काठमाडौं । सुदूरपश्चिम प्रदेश सरकारले मन्त्रिपरिषद् विस्तार गरेको छ। मुख्यमन्त्री खगराज भट्टले तीन मन्त्री र दुई राज्यमन्त्री नियुक्त गरेसँगै प्रदेश सरकारको मन्त्रिपरिषद्ले पूर्णता पाएको छ।
शुक्रबार साँझ प्रदेश प्रमुखको कार्यालयमा आयोजित समारोहमा नवनियुक्त मन्त्री तथा राज्यमन्त्रीहरूले पद तथा गोपनीयताको शपथ लिएका हुन्।
मुख्यमन्त्री भट्टले प्रकाश रावललाई उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री, ओमविक्रम भाटलाई भौतिक पूर्वाधार विकासमन्त्री तथा खुसीराम डगौरा थारूलाई आन्तरिक मामिला तथा कानुनमन्त्री नियुक्त गरेका छन्।
त्यस्तै, जानकी कुँवरलाई भौतिक पूर्वाधार विकास राज्यमन्त्री र इन्दिरा गिरीलाई वन तथा वातावरण राज्यमन्त्री को जिम्मेवारी दिइएको छ।
यसअघि चार जना नियुक्त भएका थिए
मुख्यमन्त्री भट्टले यसअघि साउन २९ गते मन्त्रिपरिषद्को पहिलो विस्तार गर्दै नेकपाका चक्र मल्ललाई आर्थिक मामिलामन्त्री, सन्तोषी थापा शर्मालाई सामाजिक विकासमन्त्री र दमन भण्डारीलाई भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री नियुक्त गरेका थिए।
त्यसैगरी जानकी बम ऐरलाई आर्थिक मामिला राज्यमन्त्री को जिम्मेवारी दिइएको थियो।
पछिल्लो विस्तारसँगै सुदूरपश्चिम प्रदेश सरकारमा मन्त्री र राज्यमन्त्रीहरूको संख्या बढेको छ भने मुख्यमन्त्री भट्टले आफ्नो मन्त्रिपरिषद्लाई पूर्णता दिएका छन्।
प्रदेश सरकारको जिम्मेवारी सम्हालेपछि मुख्यमन्त्री भट्टले चरणबद्ध रूपमा मन्त्रिपरिषद् विस्तार गरेका हुन्। शुक्रबारको नियुक्तिसँगै प्रदेश सरकारको मन्त्रालयगत जिम्मेवारीसमेत टुंगिएको छ।
Originally published on abcnews.com.np.







प्रतिक्रिया दिनुहोस्