पोखरा । प्रधानमन्त्री बालेन शाह शुक्रबार परिवारसहित स्थलमार्ग हुँदै कास्कीको माछापुच्छ्रे गाउँपालिका–६ अस्ताम पुगेका छन्। काठमाडौंबाट मुस्ताङ हिँडेका शाह दिउँसो करिब ३ बजे अस्तामस्थित अन्नपूर्ण इको भिलेज पुगेका हुन्।
शाहको टोली अन्नपूर्ण इको भिलेजमा बसेको छ। प्रधानमन्त्री अस्ताम आएको स्थानीयले थाहा पाए पनि भेट्न भने पाएनन्।
कालो सिसा भएको गाडीमा इको भिलेज पुगेका प्रधानमन्त्री शाहलाई भेट्न स्थानीयले प्रयास गरेका थिए। तर सुरक्षामा खटिएका नेपाली सेनाले भेट्न नमिल्ने भन्दै स्थानीयलाई फर्काएका थिए।
प्रधानमन्त्री आएको थाहा पाएपछि भेटेर गाउँका समस्या राख्ने अपेक्षा गरेका स्थानीय भेट्न नपाउँदा निराश देखिएका छन्।
स्थानीय शोभाखर अधिकारीले प्रधानमन्त्री आउनेबारे आफूहरूलाई पूर्वजानकारी नभएको बताए। ‘प्रधानमन्त्री आउने भन्ने थाहा थिएन। आएपछि थाहा भयो,’ उनले भने, ‘अब जनताले नै रुचाएका व्यक्ति हुन्, भेट्छन् होला भन्ने लागेको थियो, त्यसो भएन।’
प्रधानमन्त्रीको गाडी आफ्नै आँगनअगाडिको बाटो हुँदै रिसोर्टतर्फ गएको उनले टाढैबाट हेरे। ‘प्रधानमन्त्रीज्यूसँग भेट्न असाध्यै इच्छा छ। यहाँका समस्या पनि राख्न मन छ,’ अधिकारीले भने।
स्थानीय नन्दलाल अधिकारीले गाउँमा खानेपानीको समस्या रहेको बताए। ‘हाम्रोमा मुख्य समस्या खानेपानीको हो। हामीले भेट्न पायौँ भने खानेपानीबारे कुरा राख्न मन थियो,’ उनले भने, ‘तर भेट्न मेसो मिलाउन मुस्किल देखिएको छ।’
अस्ताममा धम्पुसबाट पानी ल्याइएको छ। तर माथिल्लो अस्ताममा उचाइका कारण पर्याप्त पानी पुग्न नसकेको स्थानीयको भनाइ छ।
माछापुच्छ्रे गाउँपालिका–६ का वडाध्यक्ष टेकनाथ गौतमले प्रधानमन्त्रीको निजी भ्रमण भए पनि उहाँको आगमनले अस्तामको प्रचारमा सहयोग पुग्ने बताए।
‘भेट्न पाएको भए धेरै कुरा राख्न हुन्थ्यो। जे भए पनि उहाँ आउँदा यो ठाउँको गौरव बढेको छ,’ उनले भने।
यसअघि प्रधानमन्त्रीहरूको जिल्ला भ्रमणका क्रममा जिल्ला प्रशासन कार्यालयले सुरक्षा व्यवस्था मिलाउने गरेकोमा शाहको भ्रमणमा भने काठमाडौंदेखि अस्तामसम्मको सुरक्षा नेपाली सेनाले सम्हालेको देखिएको छ। प्रधानमन्त्री शाह बीचमा सैनिक ब्यारेकबाहेक अन्यत्र रोकिएनन्।
सुरक्षा संयन्त्रका अनुसार प्रधानमन्त्री शाह शनिबार बिहानै मुस्ताङतर्फ जानेछन्। उनका लागि पोखरामै नेपाली सेनाले हेलिकप्टर तयारी अवस्थामा राखेको छ।
प्रधानमन्त्री शाहको मुस्ताङ भ्रमणको औपचारिक तालिका भने सार्वजनिक गरिएको छैन। मुस्ताङकी प्रमुख जिल्ला अधिकारी अजिता शर्माले भ्रमणबारे समाचारमा आएका विवरणबाहेक आफूलाई थप जानकारी नभएको बताइन्।
Originally published on abcnews.com.np.







प्रतिक्रिया दिनुहोस्