काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) दलाल पुँजीपति वर्गको मुख्य प्रतिनिधिका रूपमा स्थापित भएको टिप्पणी गरेका छन्।
शनिबार नेकपाको कोसी प्रदेश समितिले आयोजना गरेको एकता तथा प्रशिक्षण कार्यक्रममा बोल्दै खनालले दलाल पुँजीपति वर्गको मुख्य प्रतिनिधिले नै अहिले नेपालको सत्ता सञ्चालन गरिरहेको दाबी गरे।
उनका अनुसार २०६२/६३ को राजनीतिक परिवर्तनपछि लामो समयसम्म नेपाली कांग्रेस उक्त वर्गको मुख्य प्रतिनिधिका रूपमा रहेको थियो। अहिले भने त्यसको स्थान रास्वपाले लिएको उनको आरोप छ।
‘खासगरी अब ६२/६३ को परिवर्तनपछिको अवधिमा मुख्य दलाल पुँजीपति वर्गको मुख्य प्रतिनिधि कांग्रेस हुन्थ्यो। अहिले त्योभन्दा बढी रास्वपा दलाल पुँजीपति वर्गको मुख्य प्रतिनिधि भएर प्रकट भएको छ र सत्ता उसको हातमा छ। उसले व्यापक दमन–मर्दन सुरु गरेको छ,’ खनालले भने।
उनले रास्वपालाई कम्युनिस्ट आन्दोलनको मुख्य प्रतिद्वन्द्वी शक्तिका रूपमा चित्रण गरे। राजतन्त्रको समयमा कम्युनिस्टहरूले ‘मुख्य शत्रु’ भन्ने गरे पनि अहिले संसदीय व्यवस्थामा त्यस्तो शब्दको सट्टा ‘मुख्य प्रतिद्वन्द्वी’ भन्नुपर्ने उनको भनाइ छ।
‘हिजो राजतन्त्र रहुञ्जेल हामी मुख्य शत्रु नै भन्थ्यौँ। अब अहिले यो संसदीय व्यवस्था छ। संसदीय व्यवस्था भएको हुनाले हामीले मुख्य शत्रु भन्नुभन्दा पनि मुख्य प्रतिद्वन्द्वी भन्छौँ, हिजो नेपाली कांग्रेस थियो एकबेलामा,’ खनालले भने, ‘यतिबेलाको अवस्थामा वर्गीय रूपले यो रास्वपा मुख्य प्रतिद्वन्द्वी शक्तिको रूपमा चाहिँ हाम्रासामु आएको छ।’
सरकारको आर्थिक नीतिमाथि आलोचना
खनालले सरकारले ल्याएको नीति, कार्यक्रम तथा बजेट आम जनता र तल्लो वर्गको हितमा नरहेको आरोप लगाए।
रास्वपा नेतृत्वको सरकारले ल्याएका आर्थिक नीतिहरू माथिल्लो वर्ग केन्द्रित रहेको उनको दाबी छ।
‘रास्वपाले जुन नीति कार्यक्रम ल्यायो, त्यसले आम जनता, तल्लो वर्गका जनताको हितमा एउटा पनि छैन। सबै माथिल्लो वर्गको हितमा ल्याएको छ। बजेट ल्यायो, जम्मै माथिल्लो वर्गको हितमा ल्याएको छ,’ उनले भने।
सरकारले करको भारसमेत जनतामाथि थपेको आरोप लगाउँदै खनालले आर्थिक नीतिले आम नागरिकको जीवनमा थप समस्या सिर्जना गरेको बताए।
कम्युनिस्ट शक्तिको निर्वाचन पराजयप्रति असन्तुष्टि
खनालले पछिल्लो निर्वाचनमा कम्युनिस्ट शक्तिले बेहोरेको पराजयलाई सामान्य हारका रूपमा लिन नहुने बताए। कम्युनिस्ट नेतृत्वले विगतमा गरेका कमजोरी र त्रुटिका कारण लज्जास्पद परिणाम बेहोर्नुपरेको उनको मूल्यांकन छ।
बाह्य शक्तिको प्रभाव रहे पनि त्यसलाई प्रमुख कारणभन्दा गौण कारणका रूपमा लिनुपर्ने उनको भनाइ छ। ठूलो संख्यामा कम्युनिस्ट आन्दोलनसँग जोडिएका कार्यकर्ता तथा समर्थकमा नेतृत्वप्रति असन्तुष्टि बढेको र त्यसको प्रभाव निर्वाचन परिणाममा परेको उनले बताए।
वैदेशिक रोजगारीमा गएका श्रमिक तथा असन्तुष्ट जनतालाई विभिन्न शक्तिले आफ्नो पक्षमा परिचालन गरेको खनालको दाबी छ।
उनले वर्तमान सरकारका नीतिका कारण सुकुम्बासी, विद्यार्थी, मजदुर र पत्रकारलगायत विभिन्न वर्ग समस्यामा परेको आरोपसमेत लगाए।
कम्युनिस्ट एकतामा जोड
खनालले सबै कम्युनिस्ट शक्तिलाई एकताबद्ध भएर नयाँ ढंगबाट समाजवादी रूपान्तरणको आन्दोलन अघि बढाउन आह्वान गरे।
विगतका कमजोरी र त्रुटि सच्याएर संगठनात्मक रूपमा पुनःव्यवस्थित हुँदै अघि बढे कम्युनिस्ट आन्दोलनले पुनः सफलता हासिल गर्न सक्ने उनको भनाइ छ।
Originally published on abcnews.com.np.


















प्रतिक्रिया दिनुहोस्