काठमाडौं । काठमाडौं महानगरपालिकाले ९२ वटा निजी विद्यालयसँग स्पष्टीकरण माग गरेको छ।
महानगरपालिकाको शिक्षा विभागले ३५ दिने सूचना जारी गर्दै कानुनबमोजिम अनुमति वा स्वीकृति लिएर सञ्चालन भएका तर अब अनुमति वा स्वीकृति रद्द गर्नुपर्ने अवस्थामा रहेका संस्थागत विद्यालयसँग आवश्यक कागजातसहित विवरण पेस गर्न आग्रह गरेको हो।
महानगर क्षेत्रभित्र यस्ता विद्यालयको संख्या ९२ रहेको शिक्षा विभागले जनाएको छ। सम्बन्धित विद्यालयले ३५ दिनभित्र आफ्नो अवस्थाबारे आवश्यक विवरण तथा कागजातसहित स्पष्टीकरण पेस गर्नुपर्नेछ।
शिक्षा विभाग प्रमुख नवराज ढकालका अनुसार शिक्षा ऐन, २०७५ को दफा ३६ बमोजिम विद्यालयको अनुमति वा स्वीकृति रद्द गर्नुअघि सम्बन्धित पक्षलाई सूचना जारी गरी स्पष्टीकरणको अवसर दिनुपर्ने व्यवस्था छ।
उनका अनुसार तोकिएको समयभित्र चित्तबुझ्दो जवाफ नआएमा सम्बन्धित विद्यालयको अनुमति वा स्वीकृति रद्द गर्ने प्रक्रिया अघि बढाइनेछ।
कागजमा मात्र रहेका विद्यालयमाथि निगरानी
यसअघि नगर शिक्षा समितिको बैठकले दर्ता भएर पनि सञ्चालनमा नरहेका तथा कागजमा मात्र कायम रहेका संस्थागत विद्यालयको स्थलगत अनुगमन गरी अनुमति खारेजीको प्रक्रिया अघि बढाउने निर्णय गरेको थियो।
शिक्षा विभाग प्रमुख ढकालले यस्ता विद्यालयको वास्तविक अवस्था पत्ता लगाउन स्थलगत अनुगमनसमेत भइरहेको जानकारी दिए।
महानगरपालिकाले सञ्चालनमा नरहेका विद्यालयको अनुमति खारेज गर्नुका साथै संस्थागत विद्यालयसम्बन्धी कानुनी तथा प्रशासनिक अवस्थालाई व्यवस्थित बनाउने उद्देश्यले प्रक्रिया अघि बढाएको जनाएको छ।
Originally published on abcnews.com.np.


















प्रतिक्रिया दिनुहोस्