ABC NEWS NEPAL | No.1 News channel of Nepal
६ भदौ २०८३, शनिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

वनका रुख काटेको दृश्य वन विनाश होइन, ‘वन सम्वर्धन प्रणाली’को एक चरण


ABC NEWS
६ भदौ २०८३, शनिबार   ५ : ४५   बजे

कपिलवस्तु । कपिलवस्तुलगायत तराईका वन क्षेत्रमा हरिया सालका रुख काटिएका र तिनको स्थानमा सेता घेरा लगाइएका दृश्य पछिल्लो समय देखिन्छन्। कतिपय ठाउँमा हुर्कँदै गरेका रुखसमेत काटिएको देख्दा वन विनाशको चिन्ता हुनु स्वाभाविक भए पनि वन विज्ञहरूका अनुसार यो वन विनाश नभई ‘वन सम्वर्धन प्रणाली’अन्तर्गतको व्यवस्थापन प्रक्रिया हो।

खेतबारीमा बाली लगाएर हुर्काएजस्तै वनमा पनि रुख रोप्ने, हुर्काउने, गोडमेल गर्ने, कमजोर तथा उत्पादन क्षमतामा कमी आएका रुख हटाउने र परिपक्व रुख कटानपछि त्यस स्थानमा नयाँ बिरुवा हुर्काउने अभ्यास विस्तार हुँदै गएको छ।

यसअघि वन व्यवस्थापनमा ‘वार्षिक स्वीकृत कटान’लाई मुख्य आधार मानिन्थ्यो। त्यसक्रममा ढलापडा र सुकेका रुख मात्र हटाउने गरिन्थ्यो। अहिले भने वनको अवस्था, रुखको उमेर, वृद्धि र उत्पादन क्षमताका आधारमा व्यवस्थापन गर्ने प्रणाली विस्तार हुँदै गएको छ।

नेपालमा वि.सं. २०६८ देखि कपिलवस्तुको तिलौराकोट साझेदारी वनबाट यो प्रणाली प्रयोगमा ल्याइएको थियो। अहिले लुम्बिनी प्रदेशमा ५५९ सामुदायिक वन, आठ साझेदारी वन र चार चक्ला वन गरी एक लाख ६१ हजार हेक्टरभन्दा बढी क्षेत्रमा वन सम्वर्धन प्रणाली लागू भएको बताइएको छ। अन्य प्रदेशमा पनि आवश्यक कार्यविधि निर्माण गरी यसको विस्तार भइरहेको छ।

कुन उमेरमा काटिन्छ रुख?

वन विज्ञहरूका अनुसार सालको रुख सामान्यतः ८० देखि १०० वर्षमा परिपक्व हुन्छ। सिसौ, खयर र टिकजस्ता प्रजाति भने करिब ४० वर्षमै परिपक्व हुने गर्छन्।

परिपक्व अवस्थामा पुगेपछि रुखबाट गुणस्तरीय काठ उत्पादन हुने भएकाले निश्चित उमेरमा कटान गरिन्छ। त्रिभुवन विश्वविद्यालय, वन विज्ञान अध्ययन संस्थानका प्राध्यापक राजेश राईका अनुसार परिपक्व रुखलाई लामो समयसम्म नहटाउँदा यसको वृद्धि सुस्त हुँदै जान सक्छ। यस्तो अवस्थामा गाभा कुहिने तथा कार्बन सञ्चित गर्ने क्षमतामा समेत कमी आउन सक्ने उनको भनाइ छ।

लुम्बिनी प्रदेश वन निर्देशनालयका महानिर्देशक ईश्वरीप्रसाद पौडेलका अनुसार वन सम्वर्धन प्रणालीको उद्देश्य वन संरक्षण र उत्पादनलाई सँगसँगै अघि बढाउनु हो।

परिपक्व रुख हटाएपछि नयाँ बिरुवा हुर्किन पर्याप्त स्थान, घाम र पानी उपलब्ध हुन्छ। यसले पुनरुत्पादनलाई तीव्र बनाउनुका साथै गुणस्तरीय रुख उत्पादनमा सहयोग पुर्‍याउने उनको भनाइ छ। साल वनमा प्रायः इरेगुलर सेल्टरहुड प्रणाली लागू गरिन्छ।

चरणबद्ध हुन्छ व्यवस्थापन

इरेगुलर सेल्टरहुड प्रणालीअन्तर्गत बढीमा ५०० हेक्टर वन क्षेत्रलाई एउटा कम्पार्टमा विभाजन गरिन्छ। त्यसलाई थप आठवटा सब–कम्पार्टमा बाँडेर चरणबद्ध रूपमा व्यवस्थापन गरिन्छ।

एउटा सब–कम्पार्ट छनोट गरी त्यहाँ १० वर्षसम्म क्रमशः कटान र पुनरुत्पादनको काम गरिन्छ। कटानपछि नयाँ बिरुवा उत्पादन र संरक्षणका लागि तारजाली लगाइन्छ। त्यसपछि अर्को सब–कम्पार्टमा व्यवस्थापनको काम अघि बढाइन्छ।

तिलौराकोट साझेदारी वनका अध्यक्ष जयप्रकाश पाण्डेका अनुसार हरेक १० वर्षमा सब–कम्पार्ट परिवर्तन गर्दै वन व्यवस्थापन गरिन्छ। यसबाट वनमा विभिन्न उमेर समूहका रुख रहने वातावरण तयार हुन्छ।

व्यवस्थापनका क्रममा परिपक्व रुख मात्र काटिँदैन। वनभित्र अत्यधिक बाक्लो भएका, टुप्पो काटिएका, वृद्धिदर कम भएका तथा कमजोर बिरुवा पनि सुधार कटानमार्फत हटाइन्छ। सुकेका, रोगग्रस्त, ढलेका तथा वृद्धि रोकिएका रुख हटाएर स्वस्थ रुखका लागि आवश्यक स्थान तयार गरिन्छ।

कति रुख उत्पादन हुन्छ?

वन प्राविधिक दिलीप यादवका अनुसार वन सम्वर्धन प्रणालीअन्तर्गत प्रतिहेक्टर तीनदेखि चार हजार लाथ्रा, एक हजारदेखि एक हजार पाँच सय पोल तथा २०० देखि ३७५ वटासम्म रुख उत्पादन हुने गर्छ।

१० देखि १५ सेन्टिमिटर व्यासका रुखलाई लाथ्रा, १५ देखि ३० सेन्टिमिटर व्यासकालाई पोल र ३० सेन्टिमिटरभन्दा बढी व्यास भएका रुखलाई रुखका रूपमा वर्गीकरण गरिन्छ।

वैज्ञानिक वन महासङ्घकी केन्द्रीय अध्यक्ष रेणु सेनले वन सम्वर्धन प्रणालीको उद्देश्य रुख काट्नु मात्र नभई वनको उत्पादनशीलता कायम राख्दै नयाँ पुस्ताका रुख उत्पादन गर्नु रहेको बताइन्।

‘वन सम्वर्धन प्रणालीको मूल उद्देश्य रुख काट्नु मात्र होइन, वनको उत्पादनशीलता कायम राख्दै नयाँ पुस्ताका रुख उत्पादन गर्नु हो,’ उनले भनिन्।

उनका अनुसार परिपक्व रुखबाट काठ उत्पादन गर्ने, कमजोर रुख हटाउने, नयाँ बिरुवा हुर्काउने र निश्चित चक्रमा पुनः व्यवस्थापन गर्ने प्रक्रियाबाट वनलाई निरन्तर उत्पादन दिने स्रोतका रूपमा विकास गर्न सकिन्छ।

वनको दीर्घकालीन स्वास्थ्यमा जोड

वन सम्वर्धन प्रणालीले वनको दीर्घकालीन स्वास्थ्य र उत्पादकत्व कायम राख्न सहयोग गर्ने विज्ञहरूको भनाइ छ। कमजोर रुख हटाएर स्वस्थ तथा बलिया रुखलाई हुर्कन पर्याप्त स्थान दिइने भएकाले वनको समग्र गुणस्तर सुधार हुने अपेक्षा गरिएको छ।

यस्तो व्यवस्थापनले वनलाई काठ उत्पादनको स्रोतका रूपमा मात्र नभई जैविक विविधता संरक्षण, कार्बन सञ्चिति तथा वातावरणीय सन्तुलन कायम गर्ने माध्यमका रूपमा पनि विकसित गर्न सहयोग पुर्‍याउने बताइएको छ।

त्यसैले वन क्षेत्रमा रुख कटान भएको दृश्य देखिँदैमा त्यसलाई तत्काल वन विनाशका रूपमा बुझ्नुभन्दा कुन उद्देश्य, विधि र व्यवस्थापन योजनाअन्तर्गत कटान भइरहेको छ भन्ने बुझ्न आवश्यक रहेको वन प्राविधिकहरू बताउँछन्।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

हेटौँडा कपडा उद्योगको परीक्षण उत्पादनको मन्त्री यादवद्वारा निरीक्षण

ग्रीन रन महिला रि–रन’ सम्पन्न, पूर्णलक्ष्मी न्यौपाने प्रथम

सम्बन्धित

कुवेतमा घरेलु कामदार पठाउने भन्दै महिलालाई प्रलोभन दिने आरोपमा एक पक्राउ

मंसिरपछि महाधिवेशन धकेल्दा कांग्रेसको वैधानिकता संकटमा पर्न सक्छ : विश्वप्रकाश शर्मा

झापामा १८ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा ४० वर्षीय पक्राउ

गरिमा चौधरी हत्याकाण्डको विरोधमा बुटवलमा प्रदर्शन, दोषीलाई कडा कारबाहीको माग

अनुदानको युरिया वीरगञ्ज पठाएर कालोबजारी गरेको आरोपमा तीन पक्राउ

चितवनमा बस र मोटरसाइकल ठोक्किँदा दुईजनाको मृत्यु

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu