बागलुङ । सर्वोच्च अदालतका प्रधानन्यायाधीश डा. मनोजकुमार शर्माले छिटो न्याय सम्पादन गर्नु न्यायालयको मुख्य प्राथमिकता रहेको बताएका छन्।
शनिबार बागलुङमा आयोजित कार्यक्रममा बोल्दै प्रधानन्यायाधीश शर्माले जनतालाई समयमै न्याय दिन सके मात्रै न्यायालयप्रतिको आशा र भरोसा बढ्ने बताए। उनले दुई वर्षभन्दा पुराना मुद्दालाई शून्यमा झार्नुपर्नेमा जोड दिए।
अदालतको वर्तमान अवस्था, भौतिक संरचना तथा न्याय निरूपणको अवस्थाबारे जानकारी लिन उच्च अदालत पोखरा, बागलुङ इजलास पुगेका शर्माले न्याय सम्पादनलाई छिटो र प्रभावकारी बनाउन अदालतले प्रविधिलाई आत्मसात् गर्दै अघि बढेको बताए।
प्रधानन्यायाधीश शर्माले ७९ करोड रुपैयाँ लागतमा निर्माण भएर सञ्चालनमा आएको उच्च अदालत पोखरा, बागलुङ इजलासको भवन तथा जिल्ला अदालत बागलुङको निरीक्षणसमेत गरेका छन्।
उच्च अदालत बार एकाइ बागलुङका अधिवक्तासँगको अन्तर्क्रिया तथा छलफलमा उनले न्यायसम्बन्धी जनचेतना फैलाउन अधिवक्ताको महत्वपूर्ण भूमिका रहने बताए।
शर्माले सकेसम्म जिल्ला अदालतबाटै मुद्दाको टुंगो लगाउन सके नागरिकलाई सहज हुने बताए। “दुई वर्ष कटेका पुराना मुद्दा निकै कम रहेको पाएँ, यसलाई शून्यमा झार्नुपर्छ,” उनले भने, “पछिल्लो समय उच्च अदालत पोखरा बागलुङ इजलासमा पुराना मुद्दा घटाएर सुविधासम्पन्न भवनबाट सेवा दिँदा सहज भएको छ।”
उनले जनताले छिटो न्याय पाए मात्रै न्याय पाएको महसुस गर्ने बताए। “प्रविधिमा अब्बल न्यायालय हुन आवश्यक छ,” उनले भने।
प्रधानन्यायाधीश शर्माले देशभर बालविवाह, सम्बन्धविच्छेद र जबर्जस्ती करणी लगायतका मुद्दा बढ्नु चिन्ताजनक रहेको बताए। अदालतलाई प्रविधिमैत्री बनाउँदै न्यायिक प्रक्रियालाई थप प्रभावकारी बनाउनुपर्नेमा उनले जोड दिए।
Originally published on abcnews.com.np.







प्रतिक्रिया दिनुहोस्