काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बालेन शाह नेतृत्वको वर्तमान सरकार पाँच वर्षसम्म टिक्न नसक्ने दाबी गरेका छन्। उनले बहुमतको नाममा जनतालाई तर्साएर र लोकतान्त्रिक अधिकारमाथि हस्तक्षेप गर्दै शासन चलाउन नदिइने चेतावनीसमेत दिएका छन्।
नगरकोटमा आयोजित जनसङ्गठन समन्वय संयन्त्रको कार्यशालालाई सम्बोधन गर्दै ओलीले वर्तमान अवस्थामा लोकतन्त्र र संविधानमाथि प्रहार भएको आरोप लगाए। लोकतन्त्रलाई पुनः सही बाटोमा फर्काउनुपर्ने भन्दै उनले पार्टीका नेता तथा कार्यकर्तालाई नडराउन आग्रह गरे।
‘लोकतन्त्र अपहरित भएको छ, संविधान मिचिएको छ। अपहरित लोकतन्त्रलाई फेरि फिर्ता ल्याउनुछ,’ ओलीले भने, ‘हरेकको मनमा त्रास छ। एउटा स्टाटस लेख्नुस् त कति गाली आउँछ, त्रास छ। सही स्टाटस लेख्नुस्, सही कुरा बोल्नै हुँदैन। हुल्याहाहरूको आक्रमण सुरु भइहाल्छ।’
उनले वर्तमान सरकारको कार्यशैलीप्रति प्रश्न उठाउँदै अभिव्यक्ति स्वतन्त्रतामाथि समेत दबाब सिर्जना गरिएको आरोप लगाए।
‘कुनै हालतमा पाँच वर्ष जाँदैन’
ओलीले वर्तमान सरकारलाई देशको जिम्मेवारी सुम्पन नसकिने दाबी गर्दै सरकार पाँच वर्षको कार्यकाल पूरा गर्न नसक्ने बताए। गणतन्त्र स्थापनाका लागि दरबार छोडाउने शक्ति आफूहरूसँग रहेको उल्लेख गर्दै उनले एमाले कसैसँग नडराउने जिकिर गरे।
‘यो कुन शक्तिको आडभरोसामा चलेको छ, मतलब छैन। यी तत्त्वहरूसँग हामी डराउँदैनौँ। डराउनुहुन्न,’ उनले भने, ‘यो सरकार तपाईँहरूलाई भन्दिएँ, पाँच वर्ष कुनै हालतमा जाँदैन।’
सरकारले जनतालाई तर्साएर, थर्काएर र विभिन्न माध्यमबाट बहुमत हासिल गरेको देखाइएको आरोप पनि ओलीले लगाए।
‘हाटहुट, लाटलुट, जनतालाई तर्साएर, थर्काएर, बोल्न नसक्ने बनाएर, जेसुकै गरेर, बाकस साटेर ल्याएर बहुमत ल्याएको देखाइयो,’ उनले भने, ‘बहुमत आयो भन्दैमा पाँच वर्ष लुटमार गर्न दिएको हो र ?’
रास्वपालाई मत दिएकोमा जनतामा पश्चात्ताप भएको दाबी
एमाले अध्यक्ष ओलीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई मत दिएर बहुमत दिलाएकोप्रति जनताले अहिले पश्चात्ताप गर्न थालेको दाबी गरे। वर्तमान सरकारप्रति जनअसन्तुष्टि बढ्दै गएको भन्दै उनले सरकारविरुद्ध जनता आफैँ आन्दोलनमा उत्रने अवस्था आउन सक्ने बताए।
उनले एमालेका नेता तथा कार्यकर्तालाई सम्भावित राजनीतिक आन्दोलनका लागि तयारी अवस्थामा रहन निर्देशनसमेत दिए।
ओलीले सरकारका गतिविधिविरुद्ध जनताको आवाजलाई संगठित रूपमा उठाउनुपर्नेमा जोड दिँदै पार्टीपङ्क्तिलाई परिस्थितिको सामना गर्न तयार रहन आग्रह गरे।
Originally published on abcnews.com.np.


















प्रतिक्रिया दिनुहोस्