ABC NEWS NEPAL | No.1 News channel of Nepal
७ भदौ २०८३, आइतबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

मानिसको साथी भँगेरा हराउँदै, संरक्षणका लागि घरघरमा गुँड अभियान


ABC NEWS
७ भदौ २०८३, आइतबार   ७ : ४५   बजे

काठमाडौँ । एक समय नेपाली घरआँगनको अभिन्न हिस्सा मानिने भँगेरा पछिल्ला वर्षहरूमा सहर तथा बस्तीबाट क्रमशः हराउँदै जान थालेको छ। मानिससँग सहजीवन बिताउँदै आएको यो सानो चरा आधुनिक सहरीकरण, कङ्क्रिटका घर, रुखबिरुवाको कमी र गुँड बनाउन उपयुक्त स्थान नहुँदा संकटमा पर्दै गएको चराविद्हरू बताउँछन्।

लोकजीवनमा समेत भँगेराको विशेष स्थान छ। ‘ढुकुरको गुँड लिसिङपिसिङ, जुरेलीको मानो, हामी सानो तोप चराको तीन तलाको छानो, भँगेरोको गुँडको व्यथा भने त्यै मान्छेले जान्यो’ भन्ने उखानले मानिस र भँगेराबीचको पुरानो सम्बन्ध झल्काउँछ। तर, मानिसकै बस्तीमा रमाउने भँगेरा अहिले मानिसकै जीवनशैली परिवर्तनका कारण आफ्नो वासस्थान गुमाउँदै गएको छ।

वरिष्ठ चराविद् डा. हेमसागर बरालका अनुसार मानिससँग नजिक रहेर बस्ने घर भँगेराको सङ्ख्या विशेष गरी घट्दो क्रममा छ। घरआसपासका रुखबिरुवा काटिनु, खुला ठाउँको अभाव हुनु र आधुनिक भवनको संरचनामा गुँड बनाउन उपयुक्त स्थान नहुनु यसको प्रमुख कारण बनेका छन्।

डा. बरालका अनुसार रुख भँगेरा र घर भँगेरा दुवैको वासस्थानमा परिवर्तन आएको छ। घर वरिपरिका रुख काटिँदै जाँदा रुख भँगेरा मानिसको बस्तीबाट टाढिँदै गएका छन् भने आधुनिक घरमा साना प्वाल, खाली ठाउँ वा छानामुनि गुँड बनाउने स्थान नहुँदा घर भँगेरालाई झन् ठूलो समस्या परेको छ।

कङ्क्रिटको सहरसँगै हराउँदै पुराना चराहरू

भँगेरा संरक्षण अभियानमा सक्रिय कीर्तिपुर टुसालका ७२ वर्षीय ध्रुव बस्नेत, जो ‘भँगेरा बाजे’ का रूपमा परिचित छन्, काठमाडौँ उपत्यकाको तीव्र सहरीकरणले भँगेरासहित अन्य धेरै चराको अस्तित्वमा असर परेको बताउँछन्।

उनका अनुसार कङ्क्रिटका संरचना बढ्दै जाँदा गौँथली, धोबी, सारौँलगायत मानिसको बस्ती नजिकै पाइने चराहरू पनि कम हुँदै गएका छन्।

“भँगेरा त आफैँ गुँड बनाउन नसक्ने भएकाले सहरबाट लोप हुने अवस्थातिर पुगेका हुन्,” बस्नेत भन्छन्।

मानिसको घर, छाना, झ्यालढोका र पर्खालका साना खाली ठाउँमा गुँड बनाएर बस्ने भँगेरालाई आधुनिक घरको डिजाइनले ठाउँ दिन छाडेको उनको भनाइ छ।

‘घरमा मानिस मात्र होइन, चराको पनि ठाउँ हुनुपर्छ’

भँगेरा संरक्षणप्रति आफू सचेत भएको अनुभव बस्नेतले २०४५ सालतिरको एउटा घटनासँग जोड्छन्। घर निर्माणका क्रममा एक स्थानीय व्यक्तिले घरका सबै प्वाल नटाल्न सुझाव दिएको उनी सम्झन्छन्।

नेवारी भाषामा ‘चखुँ’ ले भँगेरा र ‘प्वाँ’ ले प्वाल वा गुँड बनाउने ठाउँलाई जनाउँछ। विगतमा घरमा मानिससँगै चराचुरुङ्गीले पनि आश्रय पाउनुपर्छ भन्ने सामाजिक मान्यता रहेको बस्नेत बताउँछन्।

२०७२ सालको भूकम्पमा पुरानो घर भत्किएपछि नयाँ घर निर्माण गर्दा पनि उनले भँगेराका लागि विशेष ठाउँ छुट्याए। अहिले उनको घरमा मात्रै ६७ वटा भँगेराको गुँड रहेका छन्।

बस्नेतले आफ्नो घरबाट सुरु गरेको अभियान अहिले टोलछिमेकसम्म फैलिएको छ। उनका अनुसार करिब १६० वटा घरमा भँगेराका लागि गुँड विस्तारगरिएको छ।

उनको सन्देश सरल छ—भाले भँगेरो जहाँ बसे पनि पोथी भँगेरालाई अण्डा पार्न र बच्चा कोरल्न सुरक्षित गुँड आवश्यक हुन्छ। त्यसैले नयाँ घर बनाउँदा वा पुराना घर मर्मत गर्दा भँगेराका लागि सानो ठाउँ छुट्याउन सकिन्छ।

कीर्तिपुरदेखि चन्द्रागिरिसम्म फैलिँदै संरक्षण अभियान

भँगेरा संरक्षणको प्रयास कीर्तिपुरमा मात्र सीमित छैन। चन्द्रागिरि नगरपालिका, काठमाडौँ महानगरपालिका लगायतका क्षेत्रमा पनि घर निर्माण गर्दा भँगेराका लागि साना प्वाल वा कृत्रिम गुँड राख्ने अभ्यास विस्तार हुँदै गएको छ।

बस्नेतको २०७९ सालमा प्रकाशित ‘भँगेरा संरक्षण’ पुस्तकमा समेटिएको तथ्यअनुसार चन्द्रागिरि–९ की सविना रञ्जितले आफ्नो घरमा ९१ वटा भँगेराका गुँड राखेकी छन्।

पुराना घरमा जस्तै नयाँ कङ्क्रिट भवनमा प्राकृतिक रूपमा गुँड बन्ने ठाउँ नहुँदा काठ वा अन्य सामग्रीबाट बनाइएका कृत्रिम गुँड राख्ने अभियान प्रभावकारी हुनसक्ने संरक्षणकर्मीहरूको विश्वास छ।

भँगेरा किन आवश्यक छ ?

भँगेरा केवल घरआँगनको चिरबिर आवाज मात्र होइन, यसले पर्यावरणीय सन्तुलन र कृषि प्रणालीमा पनि महत्त्वपूर्ण भूमिका खेल्ने चराविद्हरू बताउँछन्।

भँगेराले झुसिल्किरो, फट्याङ्ग्रा, लाभ्रेलगायत विभिन्न साना कीरा खाने गर्दछ। विशेषगरी बच्चा हुर्काउने समयमा यसले ठूलो सङ्ख्यामा कीरा संकलन गरी आफ्ना बच्चालाई खुवाउने गर्छ।

यसबाट घरवरिपरिका तरकारी तथा कृषि क्षेत्रमा हानिकारक कीराको सङ्ख्या नियन्त्रणमा सहयोग पुग्न सक्छ। यसले खेतबारी वा गोदाम आसपास झरेका अन्नका दाना तथा झारपातका बियाँ खाएर वातावरण सफा राख्न पनि भूमिका खेल्छ।

डा. हेमसागर बरालका शब्दमा, भँगेरा युगौँदेखि मानिसको साथीका रूपमा मानिसकै बस्ती वरिपरि बस्दै आएको चरा हो।

घरआँगनमा उड्ने साना किराफट्याङ्ग्रा खाने भएकाले यसले अप्रत्यक्ष रूपमा मानव स्वास्थ्य र स्वच्छ वातावरणमा समेत योगदान पुर्‍याउने संरक्षणकर्मीहरूको भनाइ छ।

‘भँगेराको चिरबिरसँगै जीवन्त बन्थ्यो घरआँगन’

एक समय बिहानैदेखि घरको छाना र आँगनमा सुनिने भँगेराको चिरबिर नेपाली समाजको परिचित दृश्य थियो। आज त्यही आवाज धेरै सहरी क्षेत्रमा दुर्लभ बन्दै गएको छ।

सहरीकरणसँगै हराउँदै गएको यो प्राकृतिक सम्पदालाई जोगाउन व्यक्तिगत तथा सामुदायिक पहल आवश्यक रहेको संरक्षणकर्मीहरू बताउँछन्। घर निर्माण गर्दा सानो गुँडको ठाउँ छोड्ने, कृत्रिम गुँड राख्ने, घरवरिपरि रुखबिरुवा जोगाउने र चराका लागि सुरक्षित वातावरण बनाउने जस्ता सामान्य उपायले पनि भँगेरा संरक्षणमा योगदान पुग्न सक्छ।

बस्नेतका अनुसार राजधानीमा पुनर्निर्माण गरिएका केही स्थानमा समेत भँगेराका लागि गुँड राख्ने प्रयास सुरु भएको छ। भद्रकाली मन्दिर, गुठी संस्थानका केही घर तथा त्रिभुवन विश्वविद्यालय परिसरमा समेत भँगेराका लागि आश्रयस्थल निर्माण गर्न सहयोग गरिएको उनी बताउँछन्।

चैत १ मा भँगेरा दिवस

भँगेरा संरक्षणप्रति जनचेतना फैलाउने उद्देश्यले सामाजिक सद्भाव तथा राष्ट्रिय एकता अभियान नेपाल ले हरेक वर्ष चैत १ गते भँगेरा दिवस मनाउँदै आएको छ।

यस अवसरमा भँगेराका लागि गुँड निर्माण गर्ने तथा संरक्षण अभियानमा योगदान पुर्‍याउने व्यक्ति र समुदायलाई सम्मान तथा पुरस्कृत गर्ने गरिएको छ।

कङ्क्रिटका घर र आधुनिक जीवनशैलीसँगै हराउँदै गएको भँगेरालाई जोगाउने चुनौती बढ्दो छ। तर संरक्षणकर्मीहरूको सानो प्रयासले एउटा सन्देश दिएको छ—मानिसले आफ्नो घरमा भँगेराका लागि सानो ठाउँ छुट्याउन सके, मानिसको पुरानो साथी फेरि घरआँगनमा फर्किन सक्छ।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

कम्युनिस्ट पार्टीहरूबीच एकता आवश्यक छ : पम्फा भुसाल

नौ दिनपछि खुल्यो जाजरकोट–डोल्पा सडक, ताक्सुगाडमा यातायात पुनः सञ्चालन

सम्बन्धित

मान्म बजारका १४ भन्दा बढी घर पहिरोको उच्च जोखिममा

सीमा अपराध नियन्त्रणमा नेपाल–भारत सुरक्षा अधिकारीबीच सहकार्य बढाउने सहमति

गैरबासिन्दा डिजिटल सेवा प्रदायकलाई भ्याट मिलानको सुविधा

उपचारका लागि विदेश जाने नेपालीको संख्या पाँच वर्षमा ७९ हजारभन्दा बढी

कपिलवस्तुमा तीन दिनमा लागुऔषधसहित सात जना पक्राउ

स्टारलिंकको नेपाल प्रवेश अझै अनिश्चित, २० प्रतिशत स्थानीय साझेदारीको व्यवस्था कायमै

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu