रुपन्देही । कपिलवस्तु प्रहरीले पछिल्लो तीन दिनमा जिल्लाका विभिन्न स्थानबाट लागुऔषधसहित सात जनालाई पक्राउ गरेको छ। प्रहरीले पाँच छुट्टाछुट्टै घटनामा उनीहरूलाई पक्राउ गरेको हो।
जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक रिपेन्द्रकुमार सिंहका अनुसार बाणगंगा नगरपालिका–६, गणेशपुरस्थित विजयबहादुर खत्रीको घरमा खानतलासी गर्दा २ ग्राम ४१० मिलिग्राम ब्राउनसुगर जस्तो देखिने पदार्थ र ४५ हजार ५०० रुपैयाँ नगद बरामद भएको छ। लागुऔषध कारोबार भइरहेको गोप्य सूचनाका आधारमा प्रहरीले घरमा खानतलासी गरेको थियो।
यस्तै, यशोधरा गाउँपालिका–७, मर्यादपुर बजारबाट कपिलवस्तु नगरपालिका–३ का २४ वर्षीय जितेन्द्र ज्ञवाली पक्राउ परेका छन्। भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका ज्ञवालीलाई शंका लागेर जाँच गर्दा पाइन्टको गोजीमा लुकाएर राखेको निट्राजेपाम–१० का १० ट्याब्लेट बरामद भएको प्रहरीले जनाएको छ।
अन्य घटनामा चार जना पक्राउ
मंगलबार शिवराज नगरपालिका–५, चन्द्रौटा कांग्रेसचोकबाट २४ वर्षीय अमन विश्वकर्मा पक्राउ परेका छन्। उनको मोबाइलको कभरमा लुकाएर राखिएको तीन पुरियाबाट ३० मिलिग्राम ब्राउनसुगर जस्तो देखिने खैरो धुलो पदार्थ बरामद भएको प्रहरीले जनाएको छ।
सोही दिन कृष्णनगर नगरपालिका–८ स्थित शाह फिलिङ्स पेट्रोल पम्प अगाडिबाट प्रहरीले थप तीन जनालाई लागुऔषधसहित पक्राउ गरेको थियो।
पक्राउ पर्नेमा शिवराज नगरपालिका–९, बानियाभारका २२ वर्षीय अर्जुन सुनार, १९ वर्षीय गौतम सुनार र कृष्णनगर नगरपालिका–१, सेमराका १९ वर्षीय शैलेन्द्र सिंह यादव रहेका छन्।
उनीहरूको साथबाट ब्राउनसुगर जस्तो देखिने पाँच मिलिग्राम पदार्थ र ६ हजार रुपैयाँ नगद बरामद भएको प्रहरीले जनाएको छ। प्रहरीले उनीहरूको साथबाट कागजसहित थप १ ग्राम ३४० मिलिग्राम पदार्थसमेत बरामद गरेको जनाएको छ।
गाँजासहित एक महिला पक्राउ
कपिलवस्तु नगरपालिका–३, सिकोटवाबाट ५३ वर्षीया तारा तेलीलाई पनि प्रहरीले पक्राउ गरेको छ। उनको घरमा खानतलासी गर्दा १९ वटा साना पुरियासहित १३० ग्राम गाँजा जस्तो देखिने पदार्थ बरामद भएको प्रहरीले जनाएको छ।
अनुसन्धान जारी
प्रहरीका अनुसार पक्राउ परेका सबैमाथि लागुऔषधसम्बन्धी कसुरमा थप अनुसन्धान भइरहेको छ। उनीहरूलाई आवश्यक अनुसन्धानका लागि म्याद थप गरी प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ।
भारतसँग सीमा जोडिएको कपिलवस्तुमा लागुऔषध ओसारपसार तथा कारोबार नियन्त्रण प्रहरीका लागि चुनौती बन्दै आएको छ। प्रहरीले सीमावर्ती क्षेत्रसँगै बजार तथा बस्तीमा निगरानी र चेकजाँचलाई थप कडाइ गरेको जनाएको छ।
Originally published on abcnews.com.np.







प्रतिक्रिया दिनुहोस्