काठमाडौं । देशभर भारी वर्षाको सम्भावना रहेकाले आज (भदौ ७) काठमाडौँसहित २८ जिल्लामा आकस्मिक बाढीको जोखिम बढेको छ। बाढी पूर्वानुमान महाशाखाले साना तथा ठूला नदीमा पानीको बहाव उल्लेख्य बढ्न सक्ने भन्दै सतर्कता अपनाउन आग्रह गरेको छ।
महाशाखाका अनुसार ताप्लेजुङ, पाँचथर, तेह्रथुम, संखुवासभा, धनकुटा, भोजपुर, खोटाङ, दोलखा, सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक, ललितपुर, भक्तपुर, काठमाडौँ, नुवाकोट, रसुवा, धादिङ, गोरखा, तनहुँ, लमजुङ, कास्की, स्याङ्जा, पर्वत, म्याग्दी, बागलुङ, बाँके, बर्दिया र कैलाली तथा आसपासका जिल्लाबाट बहने साना नदी तथा खोलामा बहाव उल्लेख्य बढ्ने सम्भावना छ।
यी जिल्लामा आकस्मिक बाढीको मध्यम जोखिम रहेकाले स्थानीयवासीलाई विशेष सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।
ठूला नदीमा पनि बहाव बढ्ने
भारी वर्षाका कारण तामाकोसी, सुनकोसी, नारायणी, त्रिशूली, बूढीगण्डकी र मर्स्याङ्दीलगायत ठूला नदीमा समेत पानीको बहाव उल्लेख्य बढ्न सक्ने महाशाखाले जनाएको छ।
नदी आसपासका क्षेत्रमा बसोबास गर्ने स्थानीयवासीलाई उच्च सतर्कता अपनाउन तथा नदी किनारमा हुने गतिविधि रोक्न आग्रह गरिएको छ। बाढीको जोखिम बढेमा सुरक्षित स्थानमा सर्न र सम्बन्धित निकायबाट जारी हुने सूचनामा ध्यान दिनसमेत महाशाखाले अनुरोध गरेको छ।
सम्भावित बाढीबाट हुने जनधनको क्षति न्यूनीकरणका लागि नदी तथा खोला किनारमा विशेष सावधानी अपनाउन र जोखिमपूर्ण स्थानमा अनावश्यक आवतजावत नगर्न महाशाखाले आग्रह गरेको छ।
Originally published on abcnews.com.np.


















प्रतिक्रिया दिनुहोस्