चितवन । भरतपुर महानगरपालिका–१ आँपटारीमा तीन वटा सवारीसाधन आपसमा ठोक्किँदा एक युवकको मृत्यु भएको छ भने एक जना घाइते भएका छन्।
आइतबार बिहान भएको दुर्घटनामा भरतपुर महानगरपालिका–१३ का २१ वर्षीय सन्देश विष्टको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ।
प्रहरीका अनुसार नारायणगढबाट रामनगरतर्फ जाँदै गरेको विष्ट सवार ना.२८–४९ प ८०६१ नम्बरको मोटरसाइकल विपरीत दिशाबाट आएका ट्रक र कारसँग ठोक्किएको थियो।
दुर्घटनामा गम्भीर घाइते भएका विष्टलाई उपचारका लागि चितवन मेडिकल कलेज लगिएको थियो। उपचारका क्रममा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनका सूचना अधिकारी चन्द्रभूषण यादवले जानकारी दिए।
मोटरसाइकलमा सवार तनहुँको भानु नगरपालिका–७ का १९ वर्षीय पुकार श्रेष्ठ पनि घाइते भएका छन्। उनको चितवन मेडिकल कलेजमै उपचार भइरहेको प्रहरीले जनाएको छ।
दुर्घटनामा संलग्न ट्रक, कार तथा मोटरसाइकल र चालकलाई प्रहरीले नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान गरिरहेको छ।
Originally published on abcnews.com.np.


















प्रतिक्रिया दिनुहोस्