चितवन । चितवनको भरतपुर महानगरपालिका–१, आँपटारीमा तीनवटा सवारीसाधन आपसमा ठोक्किँदा एक युवकको मृत्यु भएको छ भने अर्का एक जना घाइते भएका छन्।
आइतबार (भदौ ७) बिहान भएको दुर्घटनामा भरतपुर महानगरपालिका–१३ का २१ वर्षीय सन्देश विष्टको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ।
प्रहरीका अनुसार नारायणगढबाट रामनगरतर्फ जाँदै गरेको मोटरसाइकल विपरीत दिशाबाट आउँदै गरेको ट्रक र कारसँग ठोक्किएको थियो। दुर्घटनामा गम्भीर घाइते भएका विष्टलाई उपचारका लागि चितवन मेडिकल कलेज लगिएकोमा चिकित्सकले मृत घोषणा गरेका थिए।
मोटरसाइकलमा सवार तनहुँको भानु नगरपालिका–७ का १९ वर्षीय पुकार श्रेष्ठ घाइते भएका छन्। उनको चितवन मेडिकल कलेजमै उपचार भइरहेको प्रहरीले जनाएको छ।
दुर्घटनामा संलग्न ट्रक र कारका चालक तथा सवारीसाधनलाई प्रहरीले नियन्त्रणमा लिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनका सूचना अधिकारी चन्द्रभूषण यादवले जानकारी दिए।
केही समय राजमार्ग अवरुद्ध
दुर्घटनापछि केही समय उक्त क्षेत्रमा राजमार्ग अवरुद्ध भएको थियो। घटनालगत्तै प्रहरी टोली घटनास्थलमा पुगेर घाइतेको उद्धार गर्नुका साथै आवश्यक कानुनी प्रक्रिया अघि बढाएको थियो।
दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेको र विस्तृत विवरण अनुसन्धानपछि सार्वजनिक गरिने सूचना अधिकारी यादवले बताए।
Originally published on abcnews.com.np.


















प्रतिक्रिया दिनुहोस्